धरान: सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लब काठमाण्डौंलाई सडन डेथमा स्तब्ध बनाउदै नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

आज भएको दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा मछिन्द्रलाई सडन डेथमा ५–४ ले हराउदै पुलिस फाइनल पुगेको हो । निर्धारित समयको खेल दुवै टोलीबाट गोलरहित बराबरी खेलेपछि सिध्रै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टोलीले ४–४ गोल गरेका थिए । मछिन्द्रबाट रञ्जित धिमाल, विमल घर्ती मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गरे भने विशाल राई बिको प्रहार पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले रोके । यस्तै, पुलिसबाट पनि भोला सिलवाल, पदम भटराई, तीर्थ राना मगर र जुमानु राईले गोल गरे भने सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोकेका थिए ।

IMG_5155

सडन डेथमा भने कपिल ढकालले निर्णायक गोल गर्दा मछिन्द्रका कप्तान विराज महर्जन गोल गर्न चुकेपछि पुलिस बुढासुब्बाको फाइनल प्रवेश गर्न सफल भयो । खेलको म्यान अफ दि म्याच घोषित हुदै पुलिसका गोलकिपर सञ्जित श्रेष्ठले नगद १५ हजार पाए भने बेष्ट गोलको नगद ५ हजारको पुरस्कार मछिन्द्रका रेजिन धिमालले पाए । अब शनिबार हुने फाइनलमा पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँग उपाधिको लागि खेल्नेछ ।