धरान : धरानमा आजदेखि रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ शुरु हुदैछ । 

आयोजक डी-१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा हुने गोल्डकपको उद्घाटन खेल साँझ ६ बजे हुनेछ । उद्घाटन खेल नेपालको चर्चित विभागीय टोली एफिएफ क्लब काठमाण्डौं र पाहुना टोली अक्वा क्लब झारखण्ड, भारतबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका राष्ट्रिय महिला खेलाडीहरुले भरिएको विभागीय टिम एपिएफसँगै नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, काकडभिट्टा फुटबल क्लब, भारत झारखण्डको अक्वासँगै आयोजकको स्वर्णिम फुटबल क्लब पनि सहभागी रहेको छ । 

गोल्डकप विजेताले च्याम्पियन ट्रफीसहित नगद पाँच लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले इभि स्कुटर पाउदा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछ । यसैगरि, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ दिइनेछ ।