धरान : रात्रीकालिन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप-२०८३ को शनिबार भव्य उद्घाटन भएको छ ।
धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा खेलप्रेमी दर्शकहरुको उपस्थिति उत्साहजनक रह्यो । खेलकुदको सहर, मिनि ब्राजिल उपमा पाएको धरानमा महिला गोल्डकप पहिलो पटक आयोजना भएको हो भने रात्रीकालिन फुटबल प्रतियोगिता दोस्रो पटक मात्र आयोजना भइरहेको छ । त्यसैले पनि आयोजक डि-१९ क्लब र स्वर्णिम क्लबलाई उद्घाटन खेलमा टिकट काटेर उपस्थित दर्शकहरुले उत्साहित बनाएको छ ।
एपिएफ ७-० ले विजयी, पुर्णिमा एक्लैले ४ गोल गरिन्
उद्घाटन खेलमा विभागीय टोली एपिएफ क्लबले पाहुना टोली भारतको झारखण्डस्थित आक्वा फुटबल क्लबलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
एपिएफकी जर्सी १० की खेलाडी पुणि्र्र्माा राईले ह्याट्रिकसहित खेलमा एक्लै ४ गोल गरेकी थिइन् । उनले पहिलो हाफको १८ औं, २६ औ मिनेट र दोस्रो हाफको १६ औ मिनेटमा गोल गर्दै उद्घाटन खेलमा नै ह्याट्रिक गरिन् भने दोस्रो हाफको ३२ औ मिनेटमा थप एक गोल थरेर व्यक्तिगत ४ गोलसहित हाइस्कोरर पुरस्कारको दाबेदारमा आफुलाई उभ्याइन् ।

यस्तै, एपिएफको लागि जर्सी नं १९ की रश्मी कुमारी घिसिङ्गले पहिलो हाफको २९ औ र दोस्रो हाफको ४३ औ मिनेटमा गरि २ गोल आफ्नो नाममा लेखाइन् । एपिएफको लागि एक गोल झारखण्डको खेलाडीले आत्मघाती गरेका थिए । जितसँगै एपिएफ प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।
उद्घाटन खेलको प्लेयर अफ दि म्याच एपिएफकी पुर्णिमा राई घोषित हुदै मेडल र नगद १० हजार हात पारिन् । उनलाई उद्घाटन समारोहका प्रमुख अतिथि एवं धरानका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा भोली (आइतबार) धरानको स्वर्णिम फुटबल क्लब र गाईघाट फुटबल क्लब उदयपुरबीच साँझ ६ बजे खेल हुने आयोजकले जनाएको छ ।

मंसिर ५ गते फाइनल हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछ भने व्यक्ति विधातर्फ पनि खेलाडीहरुले पुरस्कार पाउनेछन् । प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि बेघा, बिशिष्ट अतिथि एवं एन्फा प्रदेश अध्यक्ष किसोर राई, उपाधि ट्रफीको दाता एवं बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम इस्वो लिम्बूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भिडियो :


प्रतिक्रिया दिनुहोस्