धरान: प्रथम धरान १९ खुल्ला पुरुष बास्केटवल प्रतियोगिताका उपाधि पुष्पवाटिका काठमाण्डौंले जितेको छ ।

धरान १९ स्थित युवा जागृति क्लवद्धारा आयोजित प्रतियोगिताको आइतबार फाइनलमा धरानको होराइजन क्लबलाई ५१–५० को झिनो स्कोरले हराउदै पुष्पवाटिकाले जितेको हो । उपाधिसँगै पुष्पवाटिकाले नगद १३ हजार, ट्रफी र प्रमाणपत्र हात पारेको छ । उपविजेता होराइजनले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र पायो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो क्वार्टरमा पुष्पवाटिका १६–१४ अंकले अग्रता लिएको थियो । दोस्रो क्वाटरमा पुष्पवाटिका १४–१८ ले पछि पर्यो भने तेस्रो क्वाटरमा पुष्पवाटिका र होराइजनले ८–८ अंक जोडेको थियो । अन्तिम क्वार्टरमा भने पुष्पवाटिकाले १३–१० अंक जोड्दै उपाधि हात पार्न सफल भयो । पुष्पवाटिकाले सेमिफाइनलमा धरान भेट्रान बास्केटवल टिमलाई र होराइजनले धरानका हुप्र्टस व्रदसलाई पराजित गर्दै फाइनल प्रवेश गरेकये थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुष्पवाटिकाका निसान सेदाइ घोषित भए । उनलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं धरान वडा नं १९ का पुर्ण लिम्वु, विशेष अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, सभाध्यक्ष सन्तोष राई लगायतले पुरस्कार वितरण गरेका थिए । फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगितामा धरानसँगै काठमाण्डौ ,विर्तामोड, दमक, वेलवारी, कटारी गरी १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताका संयोजक रन्जीत लिम्वुले जनाए ।