धरान: विद्यालयस्तरबाट नै बास्केटबल खेलको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले धरानमा ‘प्रदेश १ स्तरीय बराह ग्रुप महिला–पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

धरान बास्केटबल संघले शुक्रबार पत्रकार सम्मेलन गरेर आगामी चैत पहिलो सातादेखि प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटबल संघको सहयोगमा प्रतियोगिता चैत्र ७ गतेदेखी १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक तथा प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता धरान–१८ स्थित डिपो उच्च माविको बास्केटबल कोर्टमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा इलाम, बिर्तामोड, दमक, विराटनगर, इटहरी, तरहरा, उदयपुर, धनकुटा र धरानका टिमले सहभागीता जनाउने धरान बास्केटवल संघका अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताए । बास्केटबल खेलको माध्यमबाट प्रदेश १ भरीका कलेजका विद्यार्थीहरुमा मित्रता, भाइचारा अभिबृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको उनको भनाई छ ।

प्रतियोगितामा कक्षा ११ देखी स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । महिलातर्फ उमेरको सिमा तोकिएको छैन भने पुरुषतर्फ २२ वर्षसम्मका विद्यार्थीहरुले मात्र भाग लिन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण प्रतियोगिता छोट्याइएको संयोजक चाम्लिङले बताए । प्रतियोगिताको पुरुषतर्फको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै, महिलातर्फको विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडीले नगद २ हजार र महिला खेलाडीले नगद १ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

यस्तै, प्रतियोगिताको हाइस्कोर घोषित हुनेले पुरुष–महिला दुबैले जनही नगद १ हजार प्राप्त गर्नेछ भने उदियमान दुबै तर्फका खेलाडीले ट्रफी पाउने छ । यस्तै, प्रतियोगितालाई थप आकर्षक बनाउन समापनको दिन पूर्व बास्केटबल खेलाडी एबंम राष्ट्रिय कलाकार प्रकाश पौडेल महिला–पुरुष थ्री पोइन्ट कम्पिटिसन हुनेछ ।

विजेताले नगद ४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छ । यस्तै, प्रतियोगिताको उद्घाटनको अवसरमा पूर्व ब्रिटिस आर्मी तथा पूर्व बास्केटबल खेलाडी स्वर्गीय कुलबहादुर सेनिहाङलाई मरणेपरान्त सम्मान गरिने आयोजकले जनाएको छ । धरान–१७ का स्थायी बासिन्दा उनको केही दिन अघि निधन भएको थियो । यो प्रतियोगिताको प्रमुख प्रयोजक बराह ग्रुप रहेको छ ।बराह ग्रुप सञ्चालक समितिका सदस्य मानबहादुर दियालीले बराहले व्यापारबाट नाफा मात्र नकमाइ सामाजिक उत्तरदायित्व पनि वहन गर्ने गरेको बताए । उनले खेलकुद स्वास्थ्यको लागि पनि लाभदायक भएकोले प्रायोजन गरेको बताए ।