धरान: आजदेखि धरानमा घर बाहिर मानिस अनावश्यकरुपमा हिडडुल गरेको भेटिएमा पक्राउ गरिने भएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि धरानमा अटेर गरिएपछि प्रहरीले यस्तो निर्णय लिएको हो । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार आज बुधबारदेखि कसैलाई पनि बाहिर निस्कन दिइने छैन । कोही भेटिएमा पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा राखिने उनले बताए । ‘बाहिर मान्छे हिडेको भेटियो भने नियन्त्रणमा लिइनेछ,’डिएसपी न्यौपानेले भने,‘दिनभर प्रहरी कार्यालयमा राख्छौं, र साँझ आफन्तको जिम्मा लगाइदिन्छौं ।’

सरकारले लकडाउन घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । तर, पहिलो दिन धरानमा लकडाउन एवं निषेधाज्ञा उल्लंघन गर्नेहरु थुप्रै भेटिए । प्रहरीले सम्झाए पनि केही व्यक्तिहरु उल्टै प्रहरीसँग झगडा गर्न तम्सिएका थिए । दिनभर २५५ सवारी पक्राउ पर्यो भने प्रहरीसँग झगडा गर्न खोज्ने २ जना पक्राउ परेका थिए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई टेकेर प्रहरीले बुधबारदेखि बाहिर हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिने जनाएको हो । ‘हामीले आम जनताकै स्वास्थ्य र सुरक्षाको लागि यो निर्णय लिएका हौं, त्यसैले घरबाहिर कोही पनि ननिस्किदिनुहुन अनुरोध छ,’डिएसपी न्यौपानेले भने ।

मंगलबार(आज) दिउँसो नै उपमहानगरपालिकामा भएको बैठकले आजदेखि औषधी पसलबाहेक केही पनि खुल्ला हुन नदिने निर्णय गरेको थियो । लकडाउनलाई कडाई गर्दै खाद्यान्न, तरकारीको पसल समेत खोल्न नदिने निर्णय उक्त बैठकले गरेको छ ।

cdo