प्रदेश सरकारले ५० प्रतिशत अनुदान दियो भने क्याम्पसले नै पिसिआर मेशिन खरीद गर्छ

धरान १४ विजयपुरमा अवस्थित छ, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार । यो क्याम्पस खाद्य प्रविधि(फुड टेक्नोलोजी), पोषण विज्ञान बिषयको लागि मात्र होइन, माइक्रोवायोलोजीको अध्ययनको लागि पनि प्रख्यात छ । यहाँको माइक्रोवायोलोजी विभागले बेला बेला स्थानीय तहसँग सहकार्य गरेर आफ्नो ज्ञानको सदुपयोग गर्छ भने अनुसन्धानको नतिजाहरुले समाजलाई नै फाइदा पनि पुर्याइरहेको हुन्छ ।

अहिले कोरोना भाइरस(कोभिड १९)ले विश्वलाई नै सताइरहेको छ । यो बेला माइक्रोवायोलोजिष्टहरुको अझ बढी भुमिका हुन्छ । धरान उपमहानगरपालिकासँग सहकार्य गरेर यो विभागले सेनिटाइजर पनि उत्पादन गरेको थियो । यही सन्दर्भमा क्याम्पसको माइक्रोवायोलोजी विभागका प्रमुख धिरेन लिम्बुसँग क्लिक धरानले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: कोरोना भाइरसको महामारी छ, माइक्रोवायोलोजिष्टहरुले यो बेला के गर्न सक्छन् ?

उत्तर: पहिला कोरोना के हो भनेर बुझ्नुपर्छ । कोरोना एउटा भाइरस हो । भाइरसहरुको बारेमा अध्ययन गर्ने भाइरोलोजिष्टहरु हुन् । माइक्रोवायोलोजीकै एउटा ब्रान्च भाइरोलोजी हो । यो समयमा सबैभन्दा बढी कोरोनाको बारेमा, भाइरसको बिषयमा डिटेल अध्ययन गर्ने मान्छे, विद्यार्थीहरु माइक्रोवायोलोजिष्टहरु नै हुन् । तर हाम्रो देशमा माइक्रोवायोलोजिष्टहरुलाई बायस गरिएको छ । यहाँ केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले ब्याचलरदेखि मास्टर्ससम्म माइक्रोवायोलोजिष्टहरु उत्पादन गरेको छ । काठमाण्डौंमा उत्पादन भइरहेको छ, अन्य विभिन्न ठाउँमा उत्पादन भइरहेको छ । यति धेरै जनशक्ति छन्, दक्ष जनशक्ति छन् । उनीहरुले हामीलाई काम लगाउनुस् भनिरहेको छ तर सरकारको उदासिनता अचम्म खालको छ ।

अहिले प्रदेश नम्बर ५ ले मात्र माइक्रोवायोलोजिष्टलाई सिनियर सल्लाहकार चाहिन्छ भनेर मागेको छ । भर्खर प्रदेश ५ ले यो कामको शुरुवात भएके छ । संघीय सरकारमा यो कुराको सुनुवाई भएकै छैन । अन्य प्रदेशहरुमा यो बिषयमा थाहै भइरहेको छैन । यसबारेमा सरकारहरुले सोच्नुपर्छ । किनभने रोगहरु फैलिइरहेको छ । अहिले कोभिड १९ जुन आएको छ, यो पनि १०, १५ बर्ष पछाडि यो भन्दा खतरा भएर आउन सक्छ । किनभने भाइरसहरुले आफुलाई परिवर्तन गराइरहन्छ, त्यो बेला झन् जटिल अवस्था आउनसक्छ । देशमा यतिका दक्ष जनशक्ति हुँदा प्रयोग नगर्ने त ? दक्ष माइक्रोवायोलोजीष्टहरुलाई प्रयोग गर्ने हो भने देशमा विभिन्न किसिमको रोगहरु नियन्त्रण गर्न सहयोग हुन्छ ।

प्रश्न: माइक्रोबायोलोजिष्टहरुको भुमिका कस्तो हुन्छ ? के कार्यमा भुमिका खेल्नसक्छन् ?

उत्तर: पहिलो कुरा त माइक्रोवायोलिष्टहरुले भाइरसको बिषयमा एकदमै गहिरो,डिटेलमा अध्ययन गरेको हुन्छ । यो कसरी सर्छ ? यसको क्यारेक्टरहरु के के हुन्छ ? यसको रोकथाम कसरी गर्न सकिन्छ ? यसको वंशाणुगत कुरा के के छन् भन्ने अध्ययन गर्छन् । यो अध्ययनले त्यो भाइरसको विरुद्धमा कस्तो औषधी बनाउन सकिन्छ, त्यो बिषयमा काम गर्न सकिन्छ । कस्तो भ्याक्सिन विकास गर्न सकिन्छ, यो बिषयमा काम गर्न सकिन्छ । भाइरस एकदेखि अर्को ठाउँमा कसरी सर्छ भन्ने पत्ता लगाएपछि रोक्न सकिन्छ । यसरी धेरै काम गर्न सकिन्छ ।

dhiren-limbu1

प्रश्न: केन्द्रीय प्रविधि क्याम्पस धरानमा छ, र अहिले प्रदेश सरकार पनि छ । स्थानीय सरकार छ, समन्वय भइरहेको छ कि छैन ?

उत्तर: कोरोनाकै कुरालाई जोड्दा पिसिआर प्रदेश एकमा वीपी प्रतिष्ठानमा मात्र हो, मलाई थाह भएअनुसार । यो पिसिआर केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारले पनि ल्याउन खोजिरहेका छौं । क्याम्पस प्रमुखसँग मेरो कुरा भएको छ । उहाँको कुरा अनुसार मुल्य २०,२२ लाख पर्छ । क्याम्पस ल्याउन आतुर छ । केही लगानी ५० प्रतिशत जति प्रदेश सरकारले गर्छ भने क्याम्पसले ५० प्रतिशत गर्छ । त्यसको लागि बायो सेफ्टी लेभल २ ल्याब बनाउनुपर्छ । त्यो ल्याब बनाउन ८, १० लाख खर्च हुन्छ । त्यो बनाउन पनि क्याम्पस तयार छ । तर, कम्तीमा मेशिन किन्ने सवालमा प्रदेश सरकारले, स्थानीय सरकारले सहयोग गरेको खण्डमा यो भोली हाम्रो प्रदेशको लागि, नगरको लागि र मानव जगतको लागि राम्रो हुन्छ ।

अर्को कुरा कोरोना मात्र नभएर अन्य विभिन्न किसिमका समस्या छ । जस्तो हिजो डेंगु सेरोटाइप टु पत्ता लगाउन पनि काठमाण्डौं नै सेम्पल किन पठाउनु पर्यो ? त्यो काम यहाँ पनि हुन्छ नि । हामीसँग ज्ञान छ, तर मेशिन नभए पछि ज्ञानले मात्र काम गर्दैन । सँगसँगै खानेपानी, खाद्यान्न, अन्य रोगहरुको कुरा छन्, यी सबै कुरामा स्थानीय सरकारले, प्रदेश सरकारले कन्सल्टेन्टकोरुपमा माइक्रोवायोलोजिष्टहरुलाई जिम्मेवारी दिएर काममा लगाउन सक्छ । जसको कारणले भोली आउनसक्ने विभिन्न रोगहरुदेखि लिएर जटिल समस्यहरुबाट अग्रिमरुपमा बच्न सक्छौं ।

प्रश्न: तपाईहरुको क्याम्पसमा पिसिआर ल्याब स्थापना गर्न स्थानीय सरकार, प्रदेश सरकारमा पहल भएको छ कि छैन ?

उत्तर: यो बिषयमा प्रदेश नम्बर एकका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव नवराज राई सरसँग केही कुरा भएको छ । उहाँले भेटेर अझ डिटेलमा कुरा गरौं भन्नुभएको छ । हामी विश्वस्त छौं कि यो प्रक्रिया अगाडि बढ्ने हो भने भोली हाम्रो स्वास्थ्यसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा, विभिन्न किसिमको रोगहरु टेष्ट गर्ने सवालमा, र अन्य विभिन्न किसिमका विपत्तिहरुमा जनता, सरकार र समग्र मानव जगतलाई सहयोग गर्ने सवालमा त्यो एकदमै प्रभावकारी र महत्वपुर्ण भुमिका खेल्नसक्छ ।

प्रश्न: त्यो ल्याब कोरोनाको स्वाब टेष्ट गर्न मात्र उपयोगी हुन्छ, कि अन्य काममा पनि प्रयोग हुन्छ ?

उत्तर: त्यो ल्याब मल्टिपल काममा प्रयोग हुनसक्छ । कोरोनाको लागि मात्र भन्ने हुदैन । वीपीमा भएको रियल टाइम पिसिआर पनि ट्रपिकल डिजिजमा राख्नुभएको हो, त्यही पिसिआर प्रयोग भइरहेको छ । हरेक रोगको लागि, हरेक ब्याक्टेरिया, भाइरस प्यारासाइटहरुको जुनैको पनि अध्ययन गर्न सकिन्छ । कोरोनाको लागि मात्र होइन, अन्य धेरै कामको लागि प्रयोगमा आउछ ।