विराटनगरः उदयपुरको भुल्केस्थित एक मस्जिदमा भेटिएका सबै कोरोना संक्रमितहरुलाई मध्यराती विराटनगरको कोरोना अस्पतालमा ल्याइएको छ ।

मस्जिदमा १२ जना भारतीय र ४ जना नेपाली युवाहरु बसिरहेका थिए । उनीहरुको पिसिआर परिक्षणबाट १२ जनाको कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुलाई हिजो राती कोरोना अस्पताल लगिएको हो । चार वटा एम्बुलेन्समा उदयपुर प्रशासनले भुल्केबाट कोशी अस्पतालमातहतको कोरोना अस्पतालमा पठाएको थियो । कोशी अस्पतालकी प्रमुख डा.संगीता मिश्रका अनुसार रातीक करिब एक बजेतिर उनीहरुलाई अस्पताल ल्याइएको थियो । ती मध्ये पोजेटिभ देखिएकाहरुलाई अस्पतालमा राखेर अन्यलाई फिर्ता पठाइएको उनले बताइन् । ‘जो पोजेटिभ छन्, उनीहरुलाई राखेका छौं, अरुलाई पठाइदियौं,’डा.मिश्रले भनिन्,‘पोजेटिभ देखिएकाहरुमा पनि केही समस्या छैन ।’

स्रोतका अनुसार १२ जनामा संक्रमितमध्ये एक जना नेपाली पनि छन् । उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । संक्रमण नदेखिएको ४ जनालाई राती नै टाँडी क्वारेन्टाइन पठाइएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भटराईले जानकारी दिए । ‘संक्रमण नभएकालाई टाँडी पठाइएको छ,’उनले भने,‘भुल्केमा सुरक्षा कडा पारेका छौं, संक्रमितहरुको सम्पर्कमा को को थिए भनेर पहिचान पनि गर्दैछौं । उनीहरुको टेष्ट गछौं ।’

यसरी हुन्छ, कोरोना अस्पतालमा उपचार

विराटनगरको कोरोना अस्पताल प्रदेश एक सरकारले स्थापना गरेको अस्पताल हो । एक सय बेड क्षमताको अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि मात्र उपचार गर्ने नयाँ स्थान हो ।

विराटनगर १० मा रहेको उक्त अस्पतालको भवन नेशनल ट्रेडिङको थियो । प्रयोगविहिन उक्त भवनलाई प्रदेश एक सरकारले अस्पताल बनाउने तयारी थालेपछि हाल स्वरुप परिवर्तन गरि अस्पतालको रुपमा चिटिक्क पारेर सिँगारिएको छ भने अस्पतालका लागि आवश्यक सम्पुुर्ण संचारना निर्माण गरिएको छ । अस्पतालका प्रवक्ता डाक्टर डेन प्रसाद आचार्यका अनुसार अस्पताललाई तीन तहमा विभाजन गरिएको छ । पहिलो तलामा सामान्य प्रकृतीका संक्रमितहरुको उपचार गर्ने गरि व्यवस्था गरिएको छ भने दोस्रोमा थप समस्या भएका र तेस्रो तलामा जटिल संक्रमित बिरामी राख्ने व्यवस्था छ । त्यसपछि १० बेडको आइसीयु तयारी अवस्थामा राखिएको छ ।

कोशी अस्पतालको व्यवस्थापनमा संचालन हुने अस्पालका लागि आवश्यक सम्पुुर्ण मेडिकल उपकरण सरकारले व्यवस्था गरिदिएको छ । चिकित्सकका लागि आवश्यक पिपिईको व्यवस्था भएको छ भने कोरोना संक्रमणको उपचारका लागि चिकित्सकको टोली काममा खटिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर संगीता मिश्रले जानकारी दिइन् ।

अस्पतालमा सेन्ट्रल अक्सिजन, सिसि क्यामेरा, इन्टरनेट र टेलिफोनको व्यवस्था छ । अट्याच बाथरुम र प्रत्येक बिरामी बेडमा अलग्गै टेलिफोन सेटको व्यवस्था गरिएको छ । अस्पताल परिसरमा क्षणक्षणमा क्लोरिन पानीले सफा गर्ने बन्दोबस्थ मिलाइएको छ ।