धरान: बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारीलगायत पसल खोल्न दिने निर्णयबाट जिल्ला प्रशासन कार्यालय सुनसरी एक दिनमै पछि हटेको छ ।

भोली शुक्रबारदेखि औषधीबाहेकको कुनै पनि पसल खोल्न नदिइने सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । उनका अनुसार खाद्यान्न पसलको नाममा घडी, चस्मालगायत पसलहरु पनि खुलेको र बेथिति बढेको गुनासो आएपछि निर्णयबाट पछि हट्नु परेको बताए । ‘खाद्यान्नको नाममा घडी, चस्मा पसल पनि खुल्यो । यसले थप असहजता हुनसक्छ,’प्रजिअ पौडेलले भने,‘त्यसैले औषधी पसलबाहेक सबै बन्द हुन्छ ।’

प्रजिअ पौडेलले तरकारी, खाद्यान्न, दुधलगायतका दैनिक उपभोग्य वस्तु होम डेलिभरीको व्यवस्था भने खुला नै रहने पनि बताए । तर, जमघट हुने खालको किनबेचको कार्य सबै बन्द गरिने उनले बताए । आजदेखि धरानमा बिहान ६ बजेदेखि ९ बजेसम्म खाद्यानन र तरकारी पसलहरु खुलेका थिए । पसलहरुको अनुगमन सुनसरी उद्योग वाणिज्य संघको नेतृत्वमा हुने भनिएको थियो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भोली बिहान आजको जस्तो पसलहरु नखुल्ने र दिउँसो उपमहानगरपालिकामा बैठक बसेर ठोस निर्णय गरिने बताए । ‘छिमेकी जिल्ला उदयपुरमा २८ जना संक्रमित पुगिसके, त्यसैले गर्दा लकडाउन कडा गर्नुपर्ने अवस्था आयो । भोली दिउँसो बैठक हुन्छ,’डिएसपी न्यौपानेले भने ।