धरान: दुई दिनअघि धरानका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिले आफ्नो फोन पनि उठाउन छोडेको र कोरोनाको बिषयमा स्थानीय सरकारसँग समन्वय गर्न छोडेको भन्दै मिडियामार्फत चर्को असन्तुष्टी व्यक्त गरेका थिए ।

खास गरि समन्वय र जानकारी विना कोरोना संक्रमित व्यक्ति वीपी प्रतिष्ठान ल्याएको र त्यसबिषयमा बुझ्न खोज्दा मोवाइल रिसिभ नगरेको मेयरको भनाई थियो । हिजो आइतबार वीपी प्रतिष्ठानको सय बेडको कोभिड १९ अस्पताल निरीक्षण गर्न मुख्यमन्त्री शेरधन राई आएपछि धरानका मेयर राई पनि पुगेका थिए । त्यसक्रममा मेयर राई र वीपीका उपकुलपति केही समय सँगसँगै पनि हिडे ।

मेयर राईसँगको सम्बन्धमा आएको तिक्तताबारे सञ्चारकर्मीले उपकुलपति डा.ज्ञानेन्द्र गिरीसँग प्रश्न गर्दा उनले कोअर्डिनेशनमा केही कमीकमजोरी भएको बताए । तर, त्यसमा प्रतिष्ठानको गल्ती नभएको जिकिर गर्दै स्थानीय सरकारसँग, मेयरसँग सहकार्य भइनै रहेको बताए । ‘सहकार्य गर्दैछौं । मेयर साब यही आउनु भएको थियो । कुरा भइरहेको छ,’उपकुलपति डा.गिरीले भने,‘कहिले कही काम गर्दा कमीकमजोरी देखिन्छन् । त्यस्तो केही पनि छैन, हामीले स्थानीय सरकार, नगरप्रमख सबैसँग समन्वय गरिरहेका छौं ।’

bp-vc

उपकुलपति डा.गिरीका अनुसार केही दिनअघि उदयपुरका संक्रमित व्यक्तिको स्वाब पठाउनुपर्नेमा मान्छे नै वीपीमा ल्याएको बिषयमा कुरा उठेको र समस्या भएको थियो । त्यो गल्ती प्रतिष्ठानको नभै पठाउनेबाट भएको उनले बताए । ‘अस्ति कुरा चलेको कारण के हो भने स्वाब पठाउने ठाउँमा केही विरामी यहाँ पठाइयो । हाम्रो गल्ती होइन, उताबाट भएको हो,’उपकुलपति डा.गिरीले भने,‘यो के हुन्छ भने कोअर्डिनेशनमा कमीकमजोरी भएका कुराहरु हुन् । समस्या केही छैन, केही मान्छेहरुले सामाजिक सञ्जालमा ल्याएको कुरा मात्र हुन्, त्यसमा ध्रुव सत्य केही पनि छैन ।’