धरान: लकडाउन कडाई गरिएसँगै आफ्नै वडामा सिमित भएको धरानका कृषकहरुले उत्पादन गरेको दुध बजार तथा ग्राहकहरुसम्म ल्याउन दिइने भएको छ ।

आज(शुक्रबार) धरान उपमहानगरपालिकामा वडाअध्यक्ष र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भएको छलफलमा यस्तो निर्णय भएको हो । साथै, खाद्यान्न पसलहरु लकडाउन तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै बिहान ९ बजेसम्म खोल्न दिने पनि निर्णय भएको छ । तर, ती पसलहरुले वडा कार्यालयबाट अनुमति लिनुपर्ने र सुनसरी उवा संघ, प्रहरीसँग समन्वय तथा जानकारी गराउनुपर्ने पनि निर्णय भएको छ । ‘दुधको आपूर्ति वडा नं ३, १४ र २० मा नै सिमित पारिएको थियो, अब सामाजिक दुरी र स्वास्थ्यको मापदण्ड ख्याल गर्दै विगतमा जहाँ जहाँ वितरण किसानहरुले गर्नुहुन्थ्ये, अब त्यसरी नै गर्न पाउनुहुन्छ,’मेयर तिलक राईले भने,‘खाद्यान्न पसल बिहान ६ देखि ९ बजेसम्म खोल्न, एउटा चोकमा २ वटा भएपनि आपत्ति नहुने तर सामाजिक दुरी कायम गर्ने, स्वास्थ्यको मापदण्ड ख्याल गर्ने भन्ने निर्णय भएको छ ।’

त्यसरी खुल्ने खाद्यान्न पसलहरु वडाअध्यक्ष र सुनसरी उवासंघसँग समन्वय गर्नुपर्ने पनि मेयर राईले जानकारी दिए । उनका अुनसार बिहान खोलिने पसलहरुले वडा कार्यालयलाई जानकारी हुनुपर्छ भने प्रहरी प्रशासन र उवा संघसँग समन्वय हुनुपर्नेछ ।  सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले अहिले जुन अवस्थामा पसलहरु खुलेको छन्, त्यसरी नै बिहान ९ बजेसम्म खोल्न दिने र वडाअध्यक्षहरुले अनुगमन गर्ने निर्णइय भएको बताए । ‘संघले खाद्यान्न आपूर्ति गरिदिने हो । दाल, चामल, नुन, तेल सकिदै गयो भने कहाँबाट आपूर्ति गर्ने भनेर सहजीकरण गर्नेछ,’अध्यक्ष सापकोटाले भने ।

dharan-metro

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार उपभोक्ताहरुलाई कृषि बजारसँग समन्वय गरेर सहुलियतमा सब्जी उपलब्ध गराएजस्तै खाद्यान्नका लागि पनि सहजीकरण गर्न छलफल गरिएको बताए । ‘जसरी सब्जी सहुलियत दरमा खुवाइदैछ, त्यसरी टोल विकास संस्थामा खोल्न दिने । उद्योग वाणिज्य संघमार्फत मुल्य सुची राख्ने । लकडाउन पालना गर्दै, सामाजिक दुरी कायम गर्दै पसल खोल्ने दिने निर्णय भएको हो । वडा कार्यालयले चै अनुगमन गर्ने हो,’अध्यक्ष काफ्लेले भने ।