बेलाबेला बिबादमा आइरहने इटहरी उपमहानगरपालकाका मेयर द्वारिकलाल चौधरी यतिबेला फेरि बिबादमा आएका छन् । भ्रष्टचारीलाई नछोडने मोही किसानको छोरा, कम्युनिष्टको असल कार्यकर्ता भन्न रुचाउने मेयर चौधरी उपमहानगरको मेयर भएदेखि नै बिभिन्न फण्डाबाजीमा मुछिए । कहिले सरकारी जमिन मिचेर बिल्डिङ बनाएकोमा डोजर लाउने, कहिले भ्रष्टकर्मचारीलाई घिसारेर निकाल्ने,कहिले आफनै पार्टीका सहयोद्धा नेतालाई भ्रष्टचारको आरोप लगाई सार्बजानिक स्थलमा हातपात गर्ने, पत्रकारलाई धम्क्याउने, अपशब्द शब्द प्रयोग लगायतका कुरामा बिबादित बने ।

मेयर चौधरीसंग जोडिएर आएका यी र यस्तै कुराहरुले इटहरीका जनतामा निराशा बाहेक अरु हात लागेन । हल्ला पिटियो टर्यो । कतिपय कुरामा उनी आबद्ध रहेको पाटी नेकपाको केन्द्रिय तहसमेतको ध्यानाकर्षण भयो । कतिपय मुद्दाहरु सामसुम पारिए । कतिपय जिउंकातिउं छन् । बेला बखत चर्चामा आइरहने चौधरी यतिबेला एउटा महिलाको घरमा खाएको कुखुराको मासु र बियर काण्डले चर्चित छन् । यो काण्डमा महिला पक्षबाट उनीमाथि कुनै उजुरबाजुर परेर होइन । उनको बानी ब्यहोरा, चालचलन र उनले देखाउदै आएको शैलीदेखि खिन्न भएकाहरुले औंला उठाउने मौका पाएपछि उनी(मेयर)माथि नैतिक संकट आई लागेको छ ।

मर्यादा क्रममा दोस्रो उपमेयर लक्ष्मी गौतमले यो काण्डबारे संसयपूर्ण चासो राखेपछि उनका बिरोधीहरु झन हौसिने मौका पाएका छन् । राती मेयरले लोग्ने नभएको घरमा रहेकी दलित नारीसंग मासु रक्सी खांदैछन् भनेर हल्ला चल्यो । जिल्लबाट प्रहरी समेत आयो । पत्रकारले उनको पदीय दायित्व माथि प्रश्न गरे । उनकै पार्टीकी उपमेयर गौतमले रातारात फेसबुकमा मेयरबारेको खानपिन हल्लामा पहाडै खसेजसरी स्टाटस लेखिन् । भोली पल्ट छिटोभन्दा छिटो आफना मेयरले खानपिन गरेको महिलाको घरमा पुगिहालिन् र आफनो ओहदा माथिका मेयरको रातको हल्लाबारे इन्क्वारी लिइन् । भलै मेयर ती महिलाकोमा एक्लै थिएनन् । आतिथ्य सत्कार गरेर बेलैमा पठाएको आसय ती महिलाले सार्बजानिक गरिसकेकी छन् । त्यहाँबाट पनि मेयर चौधरी चुकेकै छन् ।

अर्काे कुरा मेयर यसअघि आफूलाई कुनै ब्यबसायिक काम गरेको नखुलाई खुबै आदर्शको राजनीतिज्ञ ठान्दथे तर उनी राजनीतज्ञ मात्र नभई जग्गा ब्यपारी पनि रहेछन् । उनले खानपान गरेको महिलाको घर छेउमै प्लटिङ गरेका रहेछन् । सो जग्गा प्लटिङका क्रममा ती महिलासँग चिनजान भएछ । छिमेकीको नाताले जग्गा किन्न मान्छे खोज्ने र कमिशन दिने शर्त अनुसार मेयर चौधरी र ती महिलाबीच केही व्यबसायिक सम्बन्ध पनि रहेछ । त्यो अबस्था अनुसार आउजाउ हुंदा समाजका केही मान्छेहरुले मेयर चौधरीको चुकुल खुस्काउने खेती गरेकै हुन् ।

मिडियाबाजी भई सकेपछि मेयर चौधरीले सो बारे संयमित हुनु पर्नेमा फेरि पत्रकार धम्क्याउने काम गरी पुरानै बानी सुरु गरेका छन् । इटहरीका स्थापित संचारकर्मी तारा पोखरेललाई आफनो बिरुद्ध समाचार लेखेको भन्दै राती राती फोन गरेर अपाच्य, असिष्ट, अमर्यादित ब्यहोरा देखाएको अडियो सार्बजानिक भएको छ । मेयर चौधरीकै नम्बरबाट राती फोन गरि तेरो स्वास्नीको पोइ बोलेको भन्ने शब्द निक्कै खेप दोहोरिएको छ । यसअघि इटहरीकै महिलाहरु सामु अश्लिल र....भन्ने शब्द प्रयोग गरेका चौधरीले एरिना टिबीका पत्रकारलाई मु.... भनेका थिए । त्यो काण्डमा पनि मेयर आलोच्य भई सकेका हुनाले अहिलेको काण्डमा पत्रकार तारा पोखरेलमाथिको गाली गलौज झन् खेदजन्य छ । मेयर चौधरीसंग जोडिएका यस्ता सामाजिक बबालहरुको अन्त्य छिटो होस् । (इटहरीका पत्रकार दियालीको फेसबुकबाट साभार)