धरान: प्रदेश १ सरकारले आगामी आर्थिक बर्षमा कृषि क्षेत्रको विकासको लागि पानै ४ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ ।

आज प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कृर्षि क्षेत्रको विकासको लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरिएको छ । कोरोना महामारीको कारण स्वेदश वा विदेशबाट गाउँ फर्केका युवाहरुलाई कृषिमा आत्मनिर्भर र स्थानीयस्तरमा रोजगारी सृर्जना गर्न व्यवसायिक कृषि उद्यमको लागि मेरो कृषि मेरो पौरख नाराको साथ सरकारले प्रदेश प्रमुख नवप्रर्वतन कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको लागि १२ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै, साना किसानलाई लक्षित गरेर कृषि कर्जामा लाग्ने ब्याजमा तीन बर्षसम्म अनुदान उपलब्ध गराउन ६ करोड २१ लाख विनियोजन गरिएको छ । प्रदेशलाई पाँ बर्षभित्र मासु, अण्डा र माछामा आत्मनिर्भर बनाउने लक्ष्य राखेर पशुपंक्षी उत्पादनलाई व्यवसायक बनाउने कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ भने पशु आहारको लागि भारतबाट आयात हुने मकैलाई क्रमशः कम गर्दै लैजान तराईमा ३ हजार हेक्टरमा हिँउदे मकै र पहाडमा ५९ सय हेक्टरमा मकै उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न १० करोड ५० लाख पनि विनियोजन गरिएको छ ।

किसानहरुलाई सहकारी संस्थामार्फत एकीकृत सेवाको व्यवस्थाको लागि १३ करोड, बर्षा याममा तयार हुने चैते धान तथा मकै सुकाउने ड्रायर खरीद तथा भण्डार गृह बनाउन ८ करोड बजेट विनियोजन गरिएको छ । लसुन, प्याजको स्वदेशमा नै उत्पादन प्रर्वद्धन गर्न प्रोत्साहन रकम उपलब्ध गराउन पनि आवश्यक बजेट विनियोजन गरिएको छ भने समग्र चियाँ क्षेत्रको लागि १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।