विराटनगरः स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश एक सरकारले बजेट महत्वकांक्षी भएको तर्कलाई खण्डन गरेको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गरि आर्थिक मामिला एवंम योजना मन्त्री इन्द्र बहादुर आङबोले बजेट महत्वकांक्षी नभएको र कार्यान्वयनमा कुनै जटिलता नआउने दाबी गरे । बजेटबारेको टिप्पणीले आफुलाई सचेत बनाउनेमा जानकार रहेको भन्दै मन्त्री आङबोले भने–‘धेरैले सोच भन्दा भिन्न तरिकाले बजेट आयो, यसमा के पनि बुुझ्नुपर्छ भने यो बजेट यथार्थ धरातलमा टेकेर आएको छ । हामीलाई कुनै समस्या पर्दैन ।’
उनले बजेटको ७० प्रतिशत पुँजिगत खर्च हुनेमा ढुक्क रहन आग्रह गरे । चालु आर्थिक वर्षमा विषम परिस्थितिमा समेत अन्य प्रदेश भन्दा बढि अर्थात ६० प्रतिशत हाराहारी खर्च हुने देखिएको भन्दै आउने आर्थिक वर्षका लागि आत्तिनु नपर्ने तर्क गरे । उनका अनुसार स्वास्थ्यलाई मुल प्राथमिकतामा राखेको सरकारले करिब ३ अर्व बजेट छुुट्याएको छ । यसले पालिका तहका स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै प्रदेश तहमा ल्याउने र कम्तिमा ५० शैयाको सुविधासम्पन्न अस्पताल बनाउने बताए ।
त्यस्तै जिल्ला तहका सबै अस्पतालाई एक सय वेडको बनाई भेन्टिलेटरसहितको आत्याधुनिक अस्पताल बनाउने र धनकुटाको जिल्ला अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न विस्तृत अध्ययन गर्ने जानकारी दिए । उनले बजेटले कृषिलाई समेत विशेष जोड दिइ करिव ८ अर्वको बजेट छुटिएको भन्दै आत्मनिर्भरमुखी अर्थतन्त्रलाई बलियो बनाउने काम यो बजेटले गर्ने बताए । उनले कोभिड १९ पछिको उत्पन्न संकटलाई मध्यनगर गरि प्रदेश एकले प्रांथमिकता बदलेको भन्दै हालका प्राथमिकताको कार्यान्वयनमा प्रदेश सरकार नचुकने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश एक सरकारले ४० अर्व ८९ करोडको बजेट ल्याएको छ । जसमा चालुु खर्चतर्फ १८ अर्व ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६.२९ प्रतिशत छ भने पुँजिगत तर्फ २१ अर्व ९२ करोड २५० लाख ४ हजार अर्थात ५३.७१ प्रतिशत रहेको छ । सो् बजेटमा करिब ७० प्रतिशत पुँजिगत खर्च पुुर्याउने सरकरको लक्षय रहेको छ । चालुु आर्थिक वर्ष वर्षमा प्रदेश १ ले ६० प्रतिशत खर्च पुर्याउने पूर्वानुमान गरिएको छ । प्रशासनिक तर्फको खर्चलाई व्यापाक कटौती गरेको सरकारले २० प्रतिशत भन्दा बढि प्रशासनिक खर्च नहुने जानकारी दिएको छ ।