धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाको विवादित निर्णयप्रति एन्फा, प्रदेश १ फुटबल संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघको हिजो इटहरीमा सम्पन्न बैठकले केन्द्रीय अध्यक्ष शेर्पाले गरेका निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त बैठकले एन्फाको विवादलाई समाधान गरेर एकतावद्ध भएर अघि लैजानुपर्ने निर्णयसमेत गरेको प्रदेश संघका अध्यक्ष किसोर राईले जानकारी दिए । उनका अनुसार प्रदेश १ बाट एन्फा केन्द्रीय समितिको विवाद मिलाउन एक टोली चाडै राजधानी जानेछ । ‘जे जति निर्णयहरु भयो, र विवाद भइरहेको छ । त्यस बिषयमा प्रदेश संघको बैठकमा गम्भीर ध्यानाकर्षण भयो,’ अध्यक्ष राईले भने,‘एन्फा आन्तरिक द्धन्दमा फस्नुपर्ने बेला होइन, एकतावद्ध भएर खेलकुदको विकासमा लाग्नुपर्ने हो । यो बैठकले एकताको सन्देश दिएको छ ।’

पछिल्लो समय एन्फाले ललितपुर, भक्तपुर फुटबल संघलाई कारबाही गरेको थियो भने वरिष्ठ पंकज नेम्बाङलाई पदपूर्ति र जिल्ला समन्वय समितिको संयोजकबाट अध्यक्ष शेर्पाले हटाएका थिए । साथै, दावा लामालाई फुटसल समितिको जिम्मेवारीबाट हटाएका थिए । अध्यक्षको यो निर्णय पछि एन्फामा विवाद र द्धन्द शुरु भएको थियो ।

anfa-meeting

 बैठकमा प्रदेश संघको सल्लाहकार रहेका एन्फाको केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरुसमेत सहभागी थिए भने प्रदेश १ का सबै जिल्ला फुटबल संघको पनि सहभागिता रहेको थियो । प्रदेश अध्यक्ष राईका अनुसार बैठकले बहुमत छ भन्दैमा एन्फाले जस्तो पायो त्यस्तै निर्णय गर्न नहुने पनि निष्कर्ष निकालेको थियो । अध्यक्ष राईले भने,‘अहिलेको नेतृत्व र टिमले जुन विश्वास पाएर आएको थियो, त्यो विश्वासलाई गुम्न दिन हुदैन, र यही टिमबाट फुटबलको विकासलाई अघि बढाउनुपर्छ, विवादको भुमरीमा फस्न हुदैन भन्ने निष्कर्ष पनि रह्यो ।’

प्रदेश संघको बैठकले प्रदेश १ का सबै जिल्लाका पदाधिकारी, खेलाडी र प्राविधिकहरुलाई कोभिड १९ को विमा गर्ने पनि निर्णय गरेको छ भने साउन दोस्रो सातादेखि लिगको पुर्वतयारीमा जुट्ने, नियमावलीअनुसार लाइसेन्सवाला प्रशिक्षक हुनु पर्ने भएकोले सि र डि लाइसेन्स कोचिङ गराउनेलगायत निर्णय पनि गरेको अध्यक्ष राईले जानकारी दिए ।