धरान: धरान उपमहानगरपालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेटबारे कार्यपालिका बैठकमा छलफल जारी छ ।

नगरसभा आज दिउँसो १ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा बोलाइएकोले पनि कार्यपालिका बैठकबाट नीति तथा कार्यक्रम र बजेट अनुमोदन गर्नैपर्ने दबाब छ । तर, बजेटप्रति वडाअध्यक्षहरुको असन्तुष्टीले गर्दा सहमति जुट्न निक्कै सकस परिरहेको छ । हिजो साँझ कार्यपालिका बैठकमा कांग्रेसबाट निवार्चित केही वडाअध्यक्षहरुले बजेटप्रति असन्तुष्टी जनाउदै च्यात्ने, जथाभावी बोल्ने र होहल्ला गर्ने गरेपछि बैठक भाँडिएको थियो ।

उक्त घटनाप्रति मेयरले नैतिकरुपमा जिम्मा लिएर क्षमा मागेपछि आज बिहान करिब ८ बजेबाट बैठक शुरु भएको वडा १७ का अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनले छलफल सकरात्मकरुपमा अघि बढीरहेको र नगरसभा हुने सम्भावना भएको उनले बताए । उद्योग वाणिज्य संघमा दुरी कायम नहोला कि भनेर स्थान परिवर्तन गरिएको उनले बताए ।

यस्तै, वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बुले पनि आगामी बर्षको बजेट सुत्रको आधारमा कुनै वडामा बजेट धेरै जाने र कुनैमा थोरै जाने गर्छ । तर, नगरस्तरीय गौरवको आयोजना थोरै बजेट गएको वडामा पनि हुनुपर्ने माग गरिएको उनले बताए । 'सुत्रको आधारमा बजेट दिदा कतिपय वडामा थोरै जान्छ, त्यस्ता वडाहरुलाई नगरस्तरीय आयोजनाहरु दिनुपर्छ भन्ने माग भइरहेको छ, अगुवाहरुले नै त्यस्ता योजनाहरु लगेको पाइयो । यो बिषयमा छलफल भइरहेको छ,'उनले भने ।