धरान: हिजो कार्यपालिका बैठक भाँडिएको घटनाप्रति मेयर तिलक राईले क्षमा मागेपछि धरानको कार्यपालिका बैठक शुरु भएको छ ।

आज बिहान ७ बजे बैठक डाँकिएको थियो । तर, ढिला गरि शुरु भएको बैठकको शुरुवातमै मेयर राईले सम्बोधन गर्दै हिजोको घटनाप्रति क्षमा मागेका थिए । उनले हिजो वडाअध्यक्षहरुले कुरा नबुझेर सो घटना हुन पुगेको भन्दै क्षमा मागेपछि बैठक सुचारु भएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । ‘मेयरले बैठकलाई शुरुमा सम्बोधन गर्दै हिजो कांग्रेसबाट निवार्चित वडाअध्यक्षले कुरा नबुझेर त्यस्तो घटना भएको हो, क्षमा माग्छु भनेपछि बैठक शुरु भएको छ,’उनले भने ।

हिजो साँझ भएको कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निवार्चित वडा नं १ का अध्यक्ष रोशन अधिकारीले नीति, कार्यक्रम तथा बजेट कपी च्यातेर होहल्ला मच्चाए पछि बैठक भाँडिएको थियो । बजेट थोरै पाएको भन्दै उनीसँगै कांग्रेसबाट निवार्चित अन्य वडाअध्यक्षहरुले चर्को असन्तुष्टी व्यक्त गरेका थिए । त्यसपछि, नेकपाबाट निवार्चित वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम्मेलन गर्दै बैठकमा अपशब्द बोलिएको र अमर्यादित व्यवहार हुदा पनि मेयरले रुलिङ गर्न नसकेको भन्दै माफी नमागेसम्म बैठकमा सहभागी नहुने बताएका थिए ।