धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत मेडिकल तथा हाउस असिफरहरुले आफ्नो तलब वृद्धि नभए पछि आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले आज बिहानदेखि प्रतिष्ठानको उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा आन्दोलनमा उत्रिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको तलब २० प्रतिशतसम्म वृद्धि हुँदा पनि हाउस अफिसरहरुको नगरिएकोले आन्दोलनमा उत्रनु परेको एक डाक्टरले बताए । ती डाक्टरका अनुसार प्रतिष्ठानमा ४८ जना डेन्टल तथा हाउस असिफरहरु कार्यरत छन् ।

प्रतिष्ठानका मेडिकल असिफरहरुले अन्य सरकारी स्वास्थ्य संस्थामा भन्दा न्युन तलबमा काम गरिरहेको पनि गुनासो गरेका छन् । सरकारले तोकेको बेसिक तलब ४५ हजार ७ सय ४६ भएको र अन्यमा ५५ हजार भन्दा माथि तलब छ तर यहाँ २९ हजार तलबमा काम गर्नुपरिरहेको उनको भनाई छ । यस्तै, मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त डाक्टरलाई प्रतिष्ठानमा मेडिकल अधिकृतकोरुपमा नराखेकोमा पनि उनीहरुले असन्तुष्टी जनाए ।

bp-medical

उपकुलपतिलाई आफ्ना मागबारे जानकारी गराए पनि सुनुवाई नभएको उनीहरुको भनाई छ । माग पुरा नभएसम्म काम छोडेर दैनिकरुपमा शान्तिपुर्ण आन्दोलनमा उत्रने उनीहरुले बताए । ‘यो भन्दा अघि प्रतिष्ठान अस्थिर भयो । त्यसैले हामी पनि चुप लाग्यौ । अहिले पुर्ण अधिकार भएको उपकुलपति आउनु भएको छ, र हाम्रो समस्या सम्बोधन हुन्छ भन्ने आशा थियो, तर सबैको तलब वृद्धि हँुदा हाम्रो गरिएन,’उनले भने ।