धरान: बर्षायाममा पनि नगरबासीहरुले पर्याप्त खानेपानीबाट बञ्चित हुनु परिरहदा धरान खानेपानी परियोजनाको विवाद भने चर्कदै गएको छ ।

आज धरानका विभिन्न २९ वटा राजनीतिक दल तथा संघसंस्थाहरुले संयुक्तरुपमा मेयर तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तिलक राईलाई ज्ञापन पत्र बुझाउदै हचुवाको भरमा खानेपानी संस्थानलाई परियोजनासँगै बोर्डमा गाभ्ने काम नगर्न चेतावनी दिएका छन् । यथास्थितिमा संस्थानलाई गाभ्ने प्रयत्न गरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी ती संघसंस्थाहरुले दिएका छन् ।

असार १० गते शुरु भएको सातौं नगरसभामा खानेपानी संस्थान र खानेपानी परियोजनालाई बोर्डमा गाभेर साउन १ गतेदेखि बोर्डले नै खानेपानी व्यवस्थापन गर्ने प्रस्ताव पेश गरिएको थियो । यो प्रस्तावप्रति सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समितिसहितका संघसंस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउदै आइरहेका छन् । परियोजनाले परीक्षणकालमा लक्ष्य वमोजिम पानी उत्पादन र विरतण गर्न नसकेको अवस्थामा बोर्डमा समायोजन गरी भएको सरकारी संरचना मास्न हतार हुने ती संघसंस्थाहरुको धारणा छ । ज्ञापन पत्रमा भनिएको छ,‘भविष्यमा खानेपानी आपूर्तिमा भयावह स्थितिलाई सहजरुपले व्यवस्थापन गर्न पनि परियोजना सफलताको प्रमाणीकरण नभएसम्म संस्थानलाई यथावत राख्नु विवेकशिल हुनजान्छ ।’

ज्ञापन पत्रमा राजनीतिक दल तथा संघसंस्थाहरुले विभिन्न ८ बुँदामा उपमहानगरपालिकाको ध्यानाकर्षण पनि गराएको छ । ती संघसंसथाहरुले डिपिआर वमोजिम आयोजनाको निर्माण र पानीको वितरण हुनुपर्ने, संघर्ष समिति र उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार भुमिगत स्रोतबाट १ करोड ५२ लाख लिटर पानी दैनिक उत्पादन गर्नेलगायत ११ बुँदा अक्षरस पालना हुनुपर्ने, उपमहानगरको कार्यपालिका बैठकले विज्ञमार्फत आयोजनाको मुल्यांकन, टेक्निकल अडिट र फाइनान्सियल अडिट गर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतको ध्यानाकर्षण गराएको छ ।

यसरी ज्ञापन पत्र बुझाउनेमा संघर्ष समितिसँगै संघीय लिम्बुवान मञ्च नेपाल, जनता समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, किरात खम्बुवान साँझा पार्टी, नेकपा(क्रान्तिकारी माओवादी, धरान स्वतन्त्र समाज, आदिबासी जनजाति सरोकार समाज, जनसरोकार मञ्च, खानेपानी उपभोक्ता समितिलगायत विभिन्न २९ वटा राजनीतिक दल, समाजिक तथा गैरसरकारी संघसंस्थाहरु रहेका छन् ।

gyapan gyapan1