धरान: धरानको फुस्रेस्थित सर्दु खोला आसपासमा पर्यटकीय पुर्वाधारहरु धमाधम निर्माण भइरहेको छ । त्यही क्षेत्रमा बन्दैछ, वीपी स्मृति पार्क । ओशो आश्रम, जैविक विधिता पार्क, रक गार्डेन, फ्लावर ब्रिजले पनि यो ठाउँ चर्चित छ । थुप्रै पर्यटकीय संरचनाहरु निर्माण भइरहेको छ ।

अहिले धरान २० तर्फको क्षेत्रमा बनेको वीपी स्मृति पार्कमा नेता वीपी कोइरालाको पुर्णकदको सालिक नै राखिएको छ । यो सालिक परिवर्तनशिल समाज नेपालको अगुवाईमा निर्माण भएको हो । सालिक भने धरान उपमहानगरपालिकाको बजेटबाट बनेको हो । सालिकलाई धरानका कलाकार महेन्द्र राई र धिरज राईले तयार गरेका हुन् । हिजो पार्कमा सालिक राखिए पनि अनावरण भने आगामी भदौ २४ गते वीपी जयन्तीको अवसरमा मात्र हुने परिवर्तनशिल समाज नेपालका अध्यक्ष विश्वारज भण्डारीले जानकारी दिए । फाइबरबाट बनेको यो सालिकको उचाई ६ फिट ६ इञ्च रहेको छ ।

bp-koirala1

समाजका अध्यक्ष भण्डारीका अनुसार वीपी कोइरालाको जन्म वि.स.१९७१ भदौ २४ गते भएको हो । त्यसैले भदौ २४ गते जन्मजयन्तीको अवसरमा सालिक अनावरण गरिने उनले बताए । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्रीसमेत रहेका नेता कोइरालाको निधन भने २०४९ साउन ६ गते भएको थियो । साहित्यकारसमेत रहेका कोइरालाको थुप्रै कृतिहरु चर्चित छन् ।

फुस्रे र वीपीबीचको साइनो

bp

वीपी स्मृति पार्क निर्माण भइरहेको स्थान सर्दु खोला किनार हो । त्यस ठाउँमा वीपी स्मृति पार्क बनाउन भन्दै २०७१ भदौ २ गते कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल आएर विरुवा रोपेका थिए भने पार्कको शिलान्यास पनि गरेका थिए । एक ताका पुर्वी पहाडी जिल्लाको प्रवेशद्धार नै बनेको फुस्रे धरान धनकुटा सडक सञ्चालनमा आएपछि गुमनाम रह्यो । तर, केही समयअघि ओशो आश्राम बनेपछि मात्र पुनः फुस्रेमा मानिसहरुको चहलपहल बढ्न थाल्यो ।

सर्दु किनारमा वीपी स्मृति पार्क निर्माण गर्नुमा ऐतिहासिक तथ्य छ । तत्कालिन जहानियाँ राण शासनकालमा वि.स.२००६ सालमा विराटनगरको रघुपति जुटमिलमा मजदुर आन्दोलन भएको थियो । उक्त आन्दोनलको कारण वीपी कोइरालालाई पक्राउ गरेर राणाहरुले धरानको यही फुस्रेको बाटो हुदै काठमाण्डौं लगेका थिए । त्यसक्रममा फुस्रेको गोदाम घरमा वीपी कोइरालालाई एक रात राखिएको र भोलीपल्ट पुरानो चल्तीको बाटो फुस्रे हुदै धनकुटा, भोजपुरबाट हिडाएर उनलाई राजधानी लगिएको भण्डारी बताउँछन् । ‘यो ऐतिहासिक ठाउँ र बाटो हो । यो ठाउँलाई पर्यटकीय हब बनाउने हाम्रो लक्ष्य छ,’उनले भने ।

bp1