धरान: विराटनगरमा कोरोना पोजेटिभ रिपोर्ट आएका २ जना प्रहरी धरानको भएको खुलेको छ ।

उनीहरु पिसिआर रिपोर्ट पोजेटिभ आउनुअघि धरान आएको पाइए पछि उच्च सतर्कता अपनाइएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार एक जना प्रहरीको घर धरान वडा नं १४ स्थित गणेश चोक हो भने अर्का प्रहरी धरानको वडा नं ११ मा डेरामा बस्छन् । उनीहरु प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

महाशाखा प्रमुख मेहताका अनुसार रिपोर्ट आउनु अघि वडा नं ११ का प्रहरी डेरामा रहेकी श्रीमति भेट्न आएका थिए । उनको बारेमा कोशी कोभिड अस्पतालबाट नै डाक्टरले फोनमार्फत जानकारी दिएको मेहताले बताए । वडा नं १४ मा घर भएका संक्रमित प्रहरीको बिषयमा भने वडा अध्यक्ष कृष्ण भट्टराईमार्फत जानकारी आएको उनले बताए । ‘वडा ११ को पोजेटिभबारे कोभिड अस्पतालबाटै फोन आएको थियो, वडा १४ को बारेमा चै भनेनन्,’मेहताले भने,‘वडाअध्यक्षले आज फोन गरेर छोरीको जन्मदिन मनाउन घर आएको थियो भन्नुभयो ।’

वडा ११ मा संक्रमित प्रहरीको श्रीमति मात्र भएकोले उनलाई सम्झाएर घरबाहिर कतै ननिस्कन आग्रह गरिएको मेहताले जानकारी दिए । ती महिलाले पनि आफु सजग भएर कतै ननिस्कन सहमत भएकी छिन् । ‘वडा १४ मा चै १५, २० जनासँग कन्ट्याक भएको भन्ने छ, सबैको पहिचान गरेर स्वाब संकलन गछौं,’मेहताले भने । वडा नं १४ का अध्यक्ष भट्टराईका अनुसार संक्रमित प्रहरी साउन २ गते छोरीको जन्मदिन मनाउन आएका थिए । ती प्रहरीको रिपोर्ट हिजो पोजेटिभ आएपछि गोठगाउँमा राखिएको छ । पिसिआर जाँच गर्ने तयारी गरिएको र कतै पनि नजान आग्रह गरिएको अध्यक्ष भट्टराईले बताए ।