धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सर्जरी वार्डबाट डिस्चार्ज भइसकेका एक विरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

सर्जरी युनिट १ बाट डिस्चार्ज भइसकेका विराटनगरका विरामीको रिपोर्ट हिजो (मंगलबार) साँझ पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका ती विरामीलाई विराटनगरमा नै आइसोलेसनमा लगिएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती विरामीको उपचारमा संलग्न डाक्टर, नर्स र नजिकका विरामीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । ‘यहाँबाट डिस्चार्ज भइसकेको विरामीको रिपोर्ट हिजो पोजेटिभ आयो, कन्ट्याक ट्रेसिङको कार्य भइरहेको छ,’सहप्रवक्ता डा.श्रेष्ठले भने ।

प्रतिष्ठानमा कन्ट्याक ट्रेसिङको नेतृत्व र्यापिड रेस्पोन्स टिममा पनि रहेका डा.विजय खनालले गर्छन् । अहिले धमाधम ट्रेसिङको कार्य भइरहेको डा.खनालले जानकारी दिए । ‘डिस्चार्ज भएर गइसके पछि रिपोर्ट पोजेटिभ आयो । उहाँको उपचारमा को को डाक्टर थिए, नजिकमा को को विरामी थिए भनेर पत्ता लगाउदैछौं,’डा.खनालले भने । अप्रेसन गर्नुपर्ने भएकोले पिसिआर जाँच गरिएको थियो । उनको थाइराइड बढेर अप्रेसन रद्द भएपछि डिस्चार्ज भएका थिए । डिस्चार्ज भइसके पछि उनको रिपोर्ट पोजेटिभ आएको हो ।