धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानभित्र लकडाउन गरिएको छ ।

एक जना डाक्टरका श्रीमान् र डिस्चार्ज भइसकेको विरामीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण फैलन नदिन लकडाउन गरिएको हो । प्रतिष्ठान रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीका अनुसार आवास क्षेत्रमा बिशेष केन्द्रीत गरिएको छ भने ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा पनि कडाई गरिएको छ । ‘सर्जरी वार्डको विरामी र भित्रै बसोबास गर्ने कर्मचारीमा आश्रित मान्छेमा पोजेटिभ देखियो । अस्पताल क्षेत्रमा पन िगतिविधि धेरै भइरहेको भन्ने महसुस भएकोले लकडाउन गरिएको हो,’ रजिष्ट्रार रेग्मीले भने ।

डा.रेग्मीले एक सुचना जारी गर्दै आवास र छात्रवास प्रयोग गर्ने शिक्षक, कर्मचारी तथा तिनका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवासबाहिर नजान निर्देशन दिएका छन् । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्धारा कारबाही हुने पनि सुचनामा उल्लेख छ । यसैगरि, प्रतिष्ठान बाहिर वा अन्यत्र स्थान वा जिल्ला जानु परेमा पुर्वस्वीकृति लिएर मात्र जान भनिएको छ भने पुर्वस्वीकृति नलिएको पाइए कानुन वमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

रजिष्ट्रार डा.रेग्मीका अनुसार अस्पतालमा उपचारको लागि आउने विरामी तथा तिनका कुरुवाहरुलाई पनि कडाई गरिने भएको छ । गेटबाट पनि प्रवेश गर्ने टेम्पो वा सफारीहरुलाई टाइम कार्ड दिइनेछ । ति सवारीहरु १० मिनेट भित्र बाहिर निस्कीसक्नुपर्नेछ भने विरामीका आफन्तहरुलाई पनि पास दिएर मात्र प्रवेश गर्न दिइनेछ । ‘ओपिडी चलिरहेको छ, त्यहाँ पनि सामाजिक दुरी कडाईका साथ लागु गरिनेछ, लकडाउन आवासिय क्षेत्रको लागि हो,’रजिष्ट्रार रेग्मीले भने ।

lock-bpkijhs