धरान: टमाटरको भाउ अहिलेसम्मकै अत्यधिक महंगो भएपछि अनुगमन शुरु हुदा आज भने थोक (होलसेल) मुल्य केही घटेको छ ।
धरान १३ स्थित थोक कृषि बजारका अनुसार आज बिहान टमाटर ९५ देखि १०० रुपैयामा कारोबार भएको छ । सोही अनुसार कृषि बजारले टमाटरको खुद्रा मुल्य १२० रुपैया तोकेको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ‘आज थोकमा १० प्रतिशत मुल्य झर्यो । थोकमा ९५, १०० मा कारोबार भएपछि नियमअनुसार २० प्रतिशत नाफा जोडेर खुद्रा मुल्य १२० रुपैया तोकिएको छ,’उनले भने,‘तर खुद्रामा त्यो भन्दा पनि बढी मुल्य लिएको गुनासोहरु आइरहेकोले अनुगमनलाई तीब्रता दिनुपर्ने भएको छ ।’
विचौलियाले गर्दा महंगो
टमाटर मात्र होइन, हरियो तरकारीहरु किसानबाट धरानको थोक र खुद्रा व्यापारीसम्म आइपुग्दा ४ चरणको विचौलिया पार भएर आइपुग्ने भएकोले मुल्य अत्यधिक भएको पाइएको छ । टमाटरको मुल्य आकासिए पछि हिजो शनिबार धरान १३ का अध्यक्ष नेत्र काफ्लेको नेतृत्वमा उत्पादनस्थल धनुकटाको विभिन्न ठाउँमा स्थलगत अनुगमनको क्रममा यस्तो खुलेको हो ।
अनुगमनको क्रममा किसानको बारीबाट स्थानीय एक अगुवा किसान वा एजेन्टले टमाटर संकलन गर्ने गरेको पाइएको थियो । उनले संकलन गरेको टमाटर नाफा खाएर बजारको अर्को व्यापारीलाई बेच्ने गरेको रहेछ । ती व्यापारीले पनि केही नाफा खाएर दर्तावाला व्यवसायी (जो गद्दी खोलेर सडक किनारमा गाडीको पहुँच भएको ठाउँमा बसेका हुन्छन्) तिनलाई बिक्री गर्ने गरेको पाइएको छ । ती गद्दीवाला व्यापारीले कृषि बजारका थोक व्यापारीसँग सिधै सम्पर्क गरेर वा थप अर्को एजेण्टमार्फत टमाटर वा अन्य हरियो तरकारी ल्याउने गरेका छन् ।
‘कृषि बजारबाट खुद्रा व्यापारी हुदै उपभोक्ताले खरीद गर्ने बेला ५ चरणमा भाउ बृद्धि भइसकेको हुन्छ, किसानले ५० रुपैयामा बेचेको तरकारी उपभोक्ताले किन्दा भाउ सय माथि पुगिसकेको हुने रहेछ,’कृषि बजारका व्यवस्थापक भट्टराईले भने । गद्दीवाला व्यापारीले धरानको थोक व्यापारीले भन्दा विराटनगर, दमकतिरका व्यापारीले बढी मुल्य हालेमा उतै बिक्री गरिदिने भएकोले पनि भाउ अत्यधिक वृद्धि हुने गरेको अनुगमनको क्रममा पाइएको थियो । धरानका व्यापारीले पनि टमाटर ल्याउनको लागि महंगो मुल्य तिर्नुपर्ने अवस्था देखिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्तालाई कसरी राहत दिने ?
लकडाउनले रोजगार गुमाएर समस्यामा परेका जनतालाई यतिबेला सरकारले राहत दिनुपर्ने हो । तर, तरकारीको भाउ महंगिएपछि आम्दानी गुमाएका नागरिकहरु थप मारमा परेका छन् । स्थानीय सरकारले जनतालाई राहत दिनको लागि अब सिधै किसानसँग सम्बन्ध बनाएर वा सम्बन्धित ठाउँको स्थानीय तहसँग समन्वय गरेर बिचौलिया हटाएर तरकारी ल्याउन सके मात्र राहत पाउनसक्छन् । यसको लागि धरान उपमहानगरपालिकाले कृषि बजारसँग सहकार्य गरेर उत्पादन क्षेत्रको पालिकासँग वा किसानसँग सिधै समन्वय गर्नुपर्ने एक सञ्चालक समिति सदस्यले बताए ।
किसानले सिधै थोक बजारसम्म ल्याउनको लागि ढुवानी गाडी, तरकारी राख्ने क्रेटलगायतको अभावले गर्दा सम्भव हुदैन । साथै, निक्कै झञ्झटिलो पनि हुने भएकोले विचौलियालाई नै तरकारी न्युनतम मुल्यमा बिक्री गर्न किसान बाध्य छ । ‘उपमहानगरपालिकाले कृषि बजारसँग सहकार्य गरेर गाडी र क्रेट व्यवस्थापन गर्ने र सिधै किसानसँग वा सम्बन्धित पालिकासँग समन्वय गरेर ल्याउने व्यवस्था गर्न सकिन्छ, सधै सम्भव नभए पनि यो लकडाउन अवधिभर जनतालाई राहत दिलाउन यो उपाय अवलम्बन गर्न सकिन्छ,’ उनी भन्छन् ।