धरान: सत्यग्राही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले आज २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका छन् ।

नेपाल मेडिकल एशोसिएशसन(एनएमए)को देशव्यापी आह्वान अनुसार प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा प्रतिष्ठानका सिनियर, जुनियर सबै चिकित्सकहरु सहभागी छन् । मेडिकल एशोसिएनको आह्वानमा चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाज र जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी पनि आन्दोलनमा उत्रिएको हो । ओपिडी भवन अघि धर्नामा बस्दै डाक्टरहरुले आज २ घण्टा ओपिडी पनि बहिष्कार गरेका थिए ।

आज बिहान ९ देखि ११ बजेसम्म ओपिडी बहिष्कार गरिएको थियो । भोली शुक्रबारदेखि ओपिडी पुरै बन्द गरिने डाक्टरहरुले बताएका छन् । ‘एनएमएको आह्वानमा आज २ घण्टा ओपिडी पनि बहिष्कार भयो, भोलीदेखि पुरै ओपिडी सेवा नगर्ने घोषणा गरिएको छ,’चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले भने ।

रिले अनसनको घोषणा

gkc-ansan

डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भोली शुक्रबारदेखि प्रतिष्ठानका जुनियर रेसिडेन्टहरुले रिले अनसन बस्ने भएका छन् । उनीहरुले डा.केसीको जीवन रक्षा र जायज माग तत्काल पुरा गर्न माग गर्दै रिले अनसन बस्ने घोषणा गरेका हुन् ।

जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले डा.केसीको ज्यान जोखिममा भएकोले सरकारले तत्काल वार्ता गरेर माग पुरा गर्न र जीवन रक्षा गर्न माग गरे । ‘आज २ घण्टा मात्र ओपिडी बहिष्कार भयो, भोलीदेखि ओपिडी बन्द नै हुन्छ, र हामी रिले अनसनमा बस्छौं,’नेपालीले भने ।डा.केसीको माग बारे सरकार र केसी दुवै तर्फबाट वार्ता टोली गठन भइसकेको छ । अहिले दुवै पक्षको टोलीबीच छलफल भइरहेकोले सहमति हुनसक्ने सम्भावना पनि छ ।

gkc-bp1