धरान: कोरोना संक्रमितहरुले भेन्टिलेटर र अक्सिजन बेड पनि नपाई ज्यान गुमाउन थालेको भन्दै चर्को आलोचना हुन थालेपछि प्रदेश सरकारले एक संयन्त्र गठन गर्ने भएको छ ।

कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाहरुबीच समन्वय, सहकार्यको आवश्यकता भएको निष्कर्ष निकाल्दै सामाजिक विकास मन्त्रालयले संयन्त्र गठन गर्न लागेको हो । संक्रमितहरुले उपचारबाट बञ्चित भइरहेको गुनासोको बिषयमा बिहिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका सामाजिक विकास मन्त्री जीवन घिमिरेले एक संयन्त्र गठन गर्ने बताएका थिए ।

प्रदेश १ कै ठुलो स्वास्थ्य संस्था प्रतिष्ठानमा पनि भेन्टिलेटर र अक्सिजन बेडको अभावले संक्रमितहरुले होम आइसोलेसनमा नै ज्यान गुमाउनु परिरहेको छ । सिकिस्त अवस्थाका कोरोना संक्रमितहरुलाई भेन्टिलेटर वा अक्सिजन बेड आवश्यक पर्दा स्वास्थ्य संस्थाहरुबीच समन्वय आवश्यक देखिएको र एकीकृतरुपमा नै कोभिड विरुद्ध जुट्नुपर्ने भन्दै मन्त्री घिमिरेले नै संयन्त्र गठनको प्रस्ताव गरेका थिए । ‘मन्त्री ज्युले संयन्त्र गठन गर्ने भन्नु भएको छ, चाडै गठन हुन्छ,’सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले भने,‘एकीकृतरुपमा समन्वय र प्रभावकारीरुपमा काम गर्नलाई संयन्त्र गठनको कुरा आएको हो ।’

संक्रमितहरुलाई रिफर गर्दा समयमा बेड नपाउने र अस्पतालमा धेरै समय कुर्नुपर्ने समस्या देखिएकोले पनि समन्वय गर्नको लागि संयन्त्र आवश्यक देखिएको सचिव कार्कीले बताए । साथै, संयन्त्रले नीतिगत कुरामा पनि सुझाव दिनेछ । यो संयन्त्रमा प्रदेश सरकार, स्थानीय तह र स्वास्थ्य संस्थाका प्रतिनिधिहरु रहनेछन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख तथा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईका अनुसार संक्रमितहरुको उपचारमा स्वास्थ्य संस्थाहरुले भोगीरहेको समस्यालाई स्थानीय तह र प्रदेश सरकारसम्म तत्काल पुर्याउन र समाधानको लागि पहल गर्न संयन्त्र गठनको अवधारणा आएको हो । ‘सैद्धान्तिक सहमति भएको छ, मन्त्री ज्युले सानो संख्यामा संयन्त्र गठन गर्नुहुनेछ,’उनले भने ।