इनरुवाः कोरोना संक्रमण महामारीको कारण जिल्ला प्रशासनले धेरै जमघट हुने कार्यक्रमहमा रोक लगाउदै निषेधाज्ञा जारी गरेकै बेला इनरुवामा फुटबल प्रतियोगिता संचालन भएको पाइएको छ ।

इनरुवा नगरपालिका ६ मधेशामा प्रशासन र स्थानीय सरकारको सहयोगमा १० टीम बीच प्रतियोगिता संचालन भएको हो । स्थानीय आयोजक मधेशा युवा क्लबले सीतपुर, अकाशा, मधेशा, सखुवागाछी, बलाहा, झुम्का, इटहरी र सैनीमैनीको टीम राखेर विभिन्न पुरस्कार, नगद र ट्रफि राखी खेल संचालन गरेको हो । क्लबका अध्यक्ष पृथ्वि चौधरीले प्रहरी प्रशासनकै सहयोगमा खेल सँचालन गरेको र प्रशासनले बढि भिडभाड नगरी चाँडो खेल सक्न आग्रह गरेको जानकारी दिए ।

सुनसरीका कोरोनाका कारण तीन दर्जनबढि संक्रमितको मृत्यु भइसकेको छ भने दैनिक संक्रमितको संख्या बढिरहेको छ । सीमावर्ती क्षेत्रमै प्रशासनको आँखैअघि भएको फुटबल प्रतियोगीताप्रति धेरैले आश्चर्य व्यक्त गरेका छन् । कतिसम्म भने खेल सँचालन भएको थाहा पाएपनि प्रहरी प्रशासनले कुनै कदम चालेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलले प्रशासनले यस्ता खेलगतिविधि सँचालन गर्न कहिँकतैबाट अनुमती नदिएको र सुरक्षा पनि नदिएको स्पष्ट पारे । उनले यदि खेल सँचालन भइरहेको हो भने तत्काल रोक्ने प्रतिबद्धता व्यक्त गरे ।