धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती बढ्दै गएपछि सुधार गर्नको लागि धरानका राजनीतिक दल तथा नागरिक समाज जुर्मुराएका छन् ।

बिशेष गरि पछिल्लो समय काभिड १९ अस्पतालको व्यवस्थापन तथा सञ्चालनमा लथालिङ्ग भएपछि चौतर्फी आलोचना भइरहेको थियो । कोरोना संक्रमितहरुले भेन्टिलेटर मात्र होइन, अक्सिजन भएको बेड पनि नपाएर विराटनगर जानुपर्ने र ज्यान गुमाउन थालेपछि धरानेहरु प्रतिष्ठानलाई सुधार गर्न तातिएका हुन् । आज दिउँसो राजनीतिककर्मी तथा अभियन्ता चोत्लुङको पहलमा होटल ड्रिमल्याण्डमा सर्वपक्षीय तथा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाको अध्यक्षतामा १ सय १ सदस्यीय वीपी प्रतिष्ठान सुधार दबाब समुह गठन गरेको छ ।

समुहले समग्र प्रतिष्ठानको सुधारको लागि पहल गर्ने जनाएको छ । समुहमा धरानमा रहेका सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरु, स्थानीय बुद्धिजिवि, राजनीतिक दल, पत्रकारहरु सामेल छन् । समितिका सदस्य सचिवमा अभियन्ता एवं पत्रकार महेश श्रेष्ठ रहेका छन् । यस्तै, समुहको ९ सदस्यीय स्टेरिङ कमिटि पनि गठन भएको छ । जसमा अध्यक्ष सापकोटासँगै सदस्य सचिव श्रेष्ठ, प्रा.डा.राजेन्द्र शर्मा, किसोरकुमार कार्की, सुजेन्द्र तामाङ, ताजुब लिम्बु, सञ्जुहांग लिम्बु, सविता राई र चेतना सेरेङ रहेका छन् ।

bpkihsx

प्रतिष्ठान सुधारको लागि समुहले दबाब सृर्जना गर्ने र त्यसको लागि भद्र अवज्ञालगायतका विभिन्न गतिविधिहरु गर्ने भएको छ । ‘हरेक नागरिकले स्वास्थ्य सेवा सुविधा पाउनुपर्छ भन्ने माग हो । त्यसको लागि भद्र अवज्ञा गर्ने भन्ने छ,’बैठकको निर्णयबारे डा.शर्माले भने,‘हामी शनिबार फेरि बैठक बस्दैछौं, त्यो बैठकले भद्र अवज्ञा के हो ? हामीले गर्ने कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने तय गर्छ ।’ यस्तै, संक्रमितको अकालमा मृत्यु नहोस् भनेर हरेक वडामा अक्सिजनको व्यवस्थापन गर्ने पनि निर्णय गरिएको उनले बताए । ‘अहिले कोभिड अस्पतालमा आएर मानिसहरु मर्न थालेपछि यो बिषय उठ्यो तर हामीले समग्र वीपीको सुधारको लागि पहल हो,’उनले भने ।