धरान: खानेपानी संस्थानको धरान शाखालाई मर्ज गर्ने म्यादको एक दिन अघि मंगलबार धरान उपमहानगरपालिकामा घेराउ र प्रर्दशन भएको छ ।

हर्क साम्पाङ नेतृत्वको दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति धरानले संस्थान र खानेपानी व्यवस्थापन बोर्डबीच मर्ज गर्ने निर्णयको विरोधमा प्रर्दशन गरेको हो । संघर्ष समितिले उपमहानगरपालिकासँग विभिन्न ७ बुँदे माग अघि सारेको छ । उपमहानगरपालिकाअघि समितिले दिउँसो नाराबाजीसमेत गरेको थियो । उपमहानगरपालिकाले कार्तिक २६ गते संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने निर्णय गरेको छ । खानेपानी आयोजना असफल भएको दाबी गर्दै संघर्ष समितिलगायत केही राजनीतिक दलहरु मर्जको विरोधमा छन् ।

संघर्ष समितिले आइयुडिपी आयोजनाले धारा र खानेपानी वितरण गर्ने भनेर जनताबाट १० हजार १० र १५ हजार १० रुपैया लिएपनि ५ बर्षसम्म वितरण नगरेको जनाएको छ । त्यस्ता घरधुरीलाई तत्काल धारा र खानेपानी वितरण गर्न सम्भव नभए पैसा लिएको मितिले ब्याजसहित फिर्ता गर्न पनि माग गरेको छ । यस्तै, सम्झौता वमोजिम आइयुडिपीले १ करोड ५२ लाख २० हजार लिटर खानेपानी उत्पादन गरेर प्रमाणित गर्नुपर्ने पनि संघर्ष समितिको माग छ ।

विगतमा भएको ११ बुँदे सम्झौता अनुसार सरकारी दरमा धारा जडान शुल्क र मासिक महशुल निर्धारण गरेर लागु गर्नुपर्ने संघर्ष समितिको माग छ । आयोजनाको कुल लागत ३ अर्ब २९ लाख रुपैया बजेट कुन शिर्षकमा कसरी र के कति खर्च भयो भनेर लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आइयुडिपीमा भएको भ्रष्टचारको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि संघर्ष समितिले माग गरेको छ । यस्तै, लकडाउनको बेला खनिएको २ वटा वेल १० दिन नपुग्दै भासिनुको कारण छानबिन गरी दोषीलाई कारबाही गर्न पनि समितिको माग छ ।

sangharsa sangharsha1