धरानः पाँच दिनसम्म मनाइने चाड तिहार निक्कै रमाइलो चाड हो । तिहारमा फूल र झिलिमिल बत्तीले घर, आँगन उज्यालो भएको हुन्छ भने सबैतिर खुशी, उमंग सञ्चार भएको हुन्छ ।

चाडपर्वमा विदा हुने भएकोले टाढाबाट परिवार, साथीभाई घरमा आएका हुन्छन् । भेटघाट हुनाले मात्र होइन, लक्ष्मी पूजाको साँझदेखि साथीभाई मिलेर देउसी भैलो खेल्न शुरु हुन्छ, जसले आत्मियता बढाउछ । सबैतिर खुशी छर्छ । यसपालीको तिहार भने खल्लो हुने भएको छ । आज साँझ घर घरमा लक्ष्मी पूजा हुदैछ । अरु बेला हो भने लक्ष्मी पूजा सकेपछि महिलाहरु भैलो खेल्न शुरु गर्थे, भने विभिन्न संघसंस्था, समुहहरु पनि देउसी कार्यक्रम शुरुवात गर्थे । देउसी भैलो सँस्कृतिको निरन्तरता भएपनि कतिपय समुह तथा संघसंस्थाहरुले देउसी भैलो कार्यक्रम अर्थ संकलन गर्ने प्रमुख उद्देश्य लिएर पनि खेल्ने गरेका छन् । तर यसपाली भने देउसी भैलो खेल्न पाइने छैन ।

कोरोना संक्रमणको उच्च जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिसकेको छ । यो अवधिमा देउसी भैलोलगायतका भिडभाड हुने खालको गतिविधिहरु गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । धरानमा संक्रमणको दर बढीरहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या पनि जिल्लामै धरानमा धेरै छ । गएको दशैं पनि यसपाली उत्साहजनक भएन ।

प्रशासनले निषेधाज्ञा जारी गरेकोले सोही अनुसार धरानमा पनि देउसी भैलो खेल्न बन्द गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । डिएसपी बस्नेतका अनुसार उपमहानगरपालिकासँग् सहकार्य गरेर माइकिङ गरेर देउसी भैलो जस्ता कार्यक्रमहरु नखेल्न प्रहरीले आग्रह गरिरहेको छ । निषेधाज्ञा उल्लंघन गरेर देउसी भैलो खेलेको पाइएमा सम्झाएर पठाउने र जर्बजस्ती गरे पक्राउ गरिने डिएसपी बस्नेतले बताए । ‘निषेधाज्ञा जारी भएकोले देउसी भैलो खेल्न प्रतिबन्ध हो, प्रचारप्रसार गरिहेका छौं,’डिएसपी बस्नेतले भने,‘निषेधाज्ञा उल्लंघन गर्न पाइदैन । खेलेको भेटिएमा शुरुमा सम्झाई बुझाई गरेर पठाउछौं, जर्बजस्ती भयो भने पक्राउ गरेर कानुनी कारबाही गछौं ।’

cdo-nised