विश्वव्यापी बनेको कोरोना भाईरस नेपालमा पनि भित्रिएपछि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो । लकडाउनले सबै ठप्प हुँदा पनि धरानका सडकहरुमा आश्रित सडक मानवहरु भने खुलेआम हिडिरहेका थिए । उनीहरुलाई संक्रमणको उच्च जोखिम भएपछि धरान उपमहानगरपालिकाले गत बैशाख १ गतेदेखि सडकबाट उठाएर धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको आवास गृहमा व्यवस्थितरुपमा राख्न थालेको छ ।
शुरुवाती दिनमा उपमहानगरपालिका आफैले सम्पुर्ण व्यवस्थापन, रेखदेख गरेको थियो । अहिले भने इटहरीस्थित माया घर नेपालले गरिरहेको छ । होप धरानलगायत विभिन्न संघसंस्थाले सहयोग गरिरहेको छ । तिनै संस्थामध्ये एक हो, लोक लक्ष्मी स्मृति प्रतिष्ठान । प्रतिष्ठानले असोज १ गतेदेखि बिहानको एक छाक खाना निरन्तर खुवाइरहेको छ । यसैसन्दर्भमा प्रतिष्ठानका बोर्ड सदस्य रञ्जित श्रेष्ठसँग संक्षिप्त गरिएको कुराकानी:

प्रश्न: प्रतिष्ठानले के गरिरहेको छ ?
उत्तर: असोज १ गतेदेखि बिहानको १ छाक खाना खुवाइरहेका छौं । शुरुमा १ महिनाको लागि भनेको थियौं, पछि विचार गर्दै जादा ३ महिना खुवाउने भनेर नगरपालिकासँग सम्झौता नै गरेका छौं । २ महिना भइसक्यो ।

प्रश्न: प्रतिष्ठान कस्तो संस्था हो ? कसरी स्थापना भयो ?
उत्तर: लोक लक्ष्मी भनेको मेरो अजा र अजीको नामको संस्था हो । २०६४ सालमा मेरो बुबा इन्द्रप्रसाद श्रेष्ठ(उहाँ भुपु प्रधानपञ्च पनि हुनुहुन्छ) उहाँले दर्ता गर्नुभएको हो । उहाँले प्रायः जसो धरानको सरकारी, सामुदायिक स्कुलहरुमा कोष खडा गरेर हरेक बर्ष ब्याजको पैसाले विपन्न परिवार छ, उनीहरुलाई एक, दुई जनालाई सहयोग गरिरहेका थियौं । झण्डै ८, १० वटा स्कुलमा र कलेजमा पनि छ । यसलाई अझै बढाउने प्रयास गर्दैछौं ।

हाल आएर कोभिडमा परिवारलाई सल्लाह गर्यौं, र फुड बैंकमा पनि १ लाख रुपैयाको २२ सय केजी चालम पनि दियौं । रेडक्रसलाई पनि २५ हजारको पिपिई र अरु सामान ड्राइभरको लागि व्यवस्थाप गरिदियौं । वडा १४ मा खाना खुवाउन चामल दियौं । यसरी नै गर्दै जादा लकडाउन लामो जान्छ भन्ने भएर खाना खुवाऊ, जसलाई एक छाक खुवाउन पनि गाह्रो छ उसलाई । मेयर साबसँग सल्लाह गर्यौं, र यातायात मजदुरलाई तार्गेट गर्यौं । तर, अफ्ठेरो लागेर हो वा के हो, आउनु भएन । त्यसको विकल्प ३ महिनाको सम्झौता गरेर खुवाइरहेका छौं ।

प्रश्न: प्रतिष्ठानको स्रोत कसरी जुटिरहेको छ ?
उत्तर: मेरो बुबा इन्द्रप्रसाद श्रेष्ठ अध्यक्ष हुनुहुन्छ । हामी ६ जना दाजुभाई, दिदी बहिनीहरु सदस्य छौं । हामी ७ जना मिलेर कोष खडा गरेका छौं । केही पर्दा हामी नै मिलेर जम्मा गछौं, खर्च गछौं । बुबाको सोच चै के छ भने कम्तीमा ३० लाखसम्मको कोष जम्मा भएपछि वृहत गर्ने योजना छ । अहिलेसम्म १४, १५ लाख जम्मा भइसकेको छ । त्यसपछि राष्ट्रियस्तरमा नै जाने योजना छ ।

प्रश्न: लांघालीमा तपाईहरुले खाना खुवाउने सम्झौता १ महिना मात्र छ, तर यहाँ सडक मानवहरु अझै पछिसम्म रहन्छन् । तपाईहरुले पनि एक महिनासम्म मात्र खुवाउने कि पछि पनि खुवाउनुहुन्छ ?

उत्तर: अझै पछिसम्म जान्छ । अझै २ महिना थप्ने हाम्रो योजना छ । पुष, माघसम्म जान्छ जस्तो छ । अहिलेकै सिस्टमबाट जाने कि अलिकति फरक गरेर जाने कि भन्ने कुरा मात्र फाइनल भएको छैन । तर, सहयोग चै निरन्तर हुन्छ ।

भिडियो :