धरान: प्रदेश १ सरकारसँगको साझेदारीमा धरान १३ स्थित कृषि उपज बजारमा निर्माण भएको कोल्डरुम (चिस्यान घर) सञ्चालनमा आएको छ ।

बजारले परीक्षणको रुपमा कोल्ड रुममा १० टन स्याउ राखेको जनाएको छ । कोल्ड रुममा ६ देखि ८ महिनासम्म स्याउ राख्न सकिनेछ । कोल्ड रुपमा क्रमशः अन्य तरकारी एवं फलफुलहरु पनि राखिने बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । ‘परीक्षणकोरुपमा १० टन स्याउ राखेका छौं, अरु पनि अब क्रमशः राख्दै जान्छौं,’उनले भने ।

यो कोल्डरुम प्रदेश १ सरकारको ५० लाख सहयोग र कृषि बजारको २५ लाख लागत साझेदारीमा निर्माण भएको हो । नेपालमा सरकार मातहतको सरकारीस्तरका कालीमाटीसहित ११ वटा तरकारी बजार छ । ती मध्ये पहिलो पटक धरानको कृषि बजारमा कोल्डरुम निर्माण भएको हो । पाइलट प्रोजेक्टकोरुपमा निर्माण भएको यो कोल्डरुम हेर्न अहिले विभिन्न ठाउँबाट बजार सञ्चालक समितिहरु धरान आइरहेका छन् । यहाँको कोल्डरुम उपयोगी र सफल भएपछि अन्य बजारले पनि निर्माण गर्नेछन् ।

coldroom1

धरानमा निर्माण भएको कोल्डरुमको क्षमता ७५ टनको रहेको छ । यो पहिलो चरणको कोल्डरुम उपयोगी र सफल भएपछि थप २ चरणमा गरि ३ सय टन क्षमताको कोल्डरुम बनाइने व्यवस्थापक भट्टराईले बताए । ‘३०० मेट्रिक टन क्षमताको बनाउँछौं । अहिले ७५ टन क्षमताको पाइटल प्रोजेक्ट हो । यो के कतिको उपयोगी हुन्छ भन्ने हेरेर थप बजेट आउछ । प्रदेश र संघीय सरकारबाट नै बजेट आउने कुरा छ,’उनले भने ।

कोल्डरुम बनेपछि किसान र व्यापारी दुवै पक्षलाई लाभ हुने कृषि बजारको भनाई छ । साथै, उपभोक्तालाई पनि फाइदा पुग्नेछ । तरकारी तथा फलफुल लिएर आएका किसानले तत्काल बिक्री नहुँदा कोल्डरुममा राख्न सक्नेछन् । त्यसो हुँदा उनीहरुको कृषि उत्पादन विगतमा जस्तो कुहिएर खेर जाने जोखिम हुनेछैन । व्यापारीहरुले पनि आफुसँग भएको तरकारी एवं फलफुल कोल्डरुममा राख्न सक्नेछन् । ‘मुख्य उद्देश्य मुल्य नियन्त्रण गर्ने हो । मुल्य उच्च भएको बेला कोल्डरुमबाट झिकेर बेच्न सकिन्छ, र मुल्यलाई सन्तुलनमा राख्छ । बिक्री नभएको बेला पनि यहाँ सामान राख्न सकिने भएकोले कुहिएर जादैन,’व्यवस्थापन भट्टराईले भने ।