धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले सम्बन्धन दिनको लागि विश्वविद्यालय बनाउने गृहकार्य भइरहेको भन्दै ध्यानाकृष्ट भएको जनाएको छ ।

समाजका अध्यक्ष डा.विष्णु पोखरेल र महासचिव डा.एस.पी.रिमालले एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठानलाई विश्वविद्यालय बनाउदा हुने फाइदा वा भिन्नताबारे व्यापक छलफल हुन जरुरी रहेको औल्याएका छन् । प्रतिष्ठान आफैमा स्वायत्त डिम युनिभर्सिटी रहेको भन्दै समाजले मेडिकल विश्वविद्यालय हुँदा हुने फाइदा वा भिन्नता नदेखिएको जनाएको छ । प्रस्तावित युनिभर्सिटीको खाका हेर्दा प्रतिष्ठानलाई सम्बन्धन दिनेबाहेक अन्य फाइदा नदेखिएको पनि समाजले प्रष्ट भनेको छ ।

भारतको एम्सको मोडलमा प्रतिष्ठान स्थापना भएको तर एम्सलाई भने विश्वविद्यालय नहुँदा कुनै फरक नपरेको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘भारतको एम्स जस्तो प्रतिष्ठानलाई कुनै युनिभर्सिटी नभए पनि फरक परेको छैन । विगत केही बर्षदेखि हाम्रो शिक्षाको स्तर खस्कदो छ’ विज्ञप्तीमा भनिएको छ,‘यस्तो अवस्थामा आफुलाई चुस्तदुरुस्त नराखी अरुलाई सम्बन्धन दिन हतारिनु गलत सावित हुनसक्छ ।’

झापाको विर्तामोडस्थित बिएण्डसि मेडिकल कलेजलगायत अन्य केही मेडिकल कलेजलाई सम्बन्धन दिने योजना अनुसार वीपीलाई विश्वविद्यालय बनाउने गृहकार्य गरिएको आरोप लाग्दै आएको छ । अन्य विश्वविद्यालयको सम्बन्धन दिने कोटा सकिएकोले अब नयाँ विश्वविद्यालयबाट मात्र सम्भव हुने भएकोले सरकारले नै योजनावद्धरुपमा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने गृहकार्य थालेको हो । गएको सिनेट बैठकबाट ऐन मस्यौदा सुझाव कार्यदल पनि गठन भएर अवाश्यक गृहकार्य गरिरहेको छ ।

'प्रतिष्ठानको वर्तमान ऐन र हाल प्रस्तावित ऐनको मस्यौदामा पनि भिजन, मिसन र गोल एउटै राखिएकोले परिवर्तनको आवश्यकता कसरी पुष्टि हुन्छ ?' समाजले विज्ञप्तीमार्फत प्रश्न गरेको छ,‘प्रतिष्ठान विश्वविद्यालय भएमा यहाँका कर्मचारी र फ्याकल्टीको सुविधामा के कस्ता सुधार हुन्छन् ?’ हाल प्रतिष्ठान चरम आर्थिक संकटबाट गुज्रिरहेको भन्दै समाजले यो अवस्था आयस्रोत कमजोर भएर मात्र नभै मितव्ययिता, आर्थिक अनुसशासन र स्रोतको उचित परिचालन गर्नेतर्फ ध्यान दिनुपर्नेमा पनि जोडदिएको छ । ‘नत्र जति नै धेरै आयस्रोत भएपनि आर्थिक संकट कम हुनेवाला छैन । यो ध्रुवसत्यलाई नबुझी विश्वविद्यालय बनाउने कुरा केवल कागजमा सम्भव छ, यथार्थमा छैन,’विज्ञप्तीमा भनिएको छ ।

प्रतिष्ठानले पहिला आफ्नै आन्तरिक व्यवस्थापन गर्न जरुरी

समाजले प्रतिष्ठानको एकेडेमिक, उपचार सेवा, रिसर्चमा लगानी, प्रमोशन, फोहोरको उचित व्यवस्थापनलगायतका हरेक पक्ष तरल र जर्जर भएको दाबी गर्दै पहिले आफ्नै आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पनि सुझाव दिएको छ । अस्पताल, शैक्षिक कार्यक्रम र अन्वेषण पुर्णरुपमा संचालन गर्न पहल गर्न अहिलेको जनशक्ति खपत गर्नुपर्ने समाजको भनाई छ ।

यस्तै, बषौंदेखि रोकिएको प्रमोशनको समस्या समाधान गर्न अहिलेको शक्ति खपत गर्नुपर्ने, आफ्नो जग्गा र सम्पत्तिहरु अतिक्रमणको चपेटामा परेकोले संरक्षण गर्न जनशक्ति खटाउनुपर्ने, फार्मेसी चलाउन निर्देशन र अधिकार दिएको बषौं भएपनि कार्यान्वयन नभएकोले अहिलेको जनशक्ति खपत गर्नुपर्ने पनि समाजले विज्ञप्तीमा उल्लेख गरेको छ ।

यसैगरि, प्रतिष्ठानमा पानीको समस्या दिनप्रतिदिन बढीरहेको र खानेपानी संस्थानसँग भएको असमान सम्झौता सकिएकोले सम्झौता पुनरावलोकन गर्ने प्रयासमा अहिलेको जनशक्ति खपत गर्न पनि समाजले माग गरेको छ । यस्तै, संक्रमित फोहोर व्यस्थापन विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत रहेको र फालेका फोहोरले समाजमा कुनै पनि बेला ठुलो संक्रामक रोग फैलाउन सक्ने भएकोले आधुनिक र वैज्ञानिक फोहोर व्यवस्थापन गर्न पनि समाजले माग गरेको छ ।