धरान: लकडाउनको बेला बास्टेकवल संघले आफ्ना खेलाडीहरुलाई सेल्फ प्रशिक्षण गर्न र फिट रहन सुझाव दिएको थियो । त्यसैअनुसार इटहरी १९ सैनिक चोकका २८ बर्षीय बास्केटवल खेलाडी प्रदिप गुरुङ पनि तरहराको कोर्टमा अभ्यास गरिरहदा घाइते भए ।
करिब एक महिना अघि चोटग्रस्त भएका खेलाडी गुरुङ सामान्य घाइते थिएनन् । उनको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट(ए.सि.एल.) पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएको छ । त्यसको लागि कम्तीमा अढाई लाख खर्च हुन्छ ।
सामान्य परिवारका गुरुङको सहयोगार्थ जुटाउन धरान बास्केटवल संघको आयोजना र सुनसरी बास्केटवल संघको सहयोगमा धरानमा च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल हुने भएको छ । पुष ८ गते बिहान डिपोट माविको कोर्टमा हुने मैत्रीपुर्ण खेल धरान बास्केटवल र झापा बास्केटवल टिमबीच हुने प्रदेश १ का बास्केटवल प्रशिक्षक विकास चाम्लिङले जानकारी दिए । उनका अनुसार सम्भावना भएका खेलाडी गुरुङको अप्रेशन पछि पनि विगतमा जस्तो सक्रिय र व्यवासयिकरुपमा खेल्ने अवस्था हुदैन । ‘सम्भावना भएका खेलाडीको खेल करिअर सकिने अवस्थामा पुगेको छ, उहाँले हिजो गरेको योगदानको सम्मानको लागि पनि च्यारिटी खेल गर्दैछौं,’उनले भने ।
खेलाडी गुरुङको लागि आर्थिक सहयोग संकलन गरिनेछ भने खेल हेर्न पनि निमन्त्रणा गरिनेछ । यो कार्यक्रम खेलसम्बद्ध निकायहरुलाई खेलाडीहरुको स्वास्थ्यप्रति ध्यानाकर्षण गराउने पनि उद्देश्यले आयोजना गरिएको बास्केटवल संघले जनाएको छ । ‘राज्यको लागि खेलमार्फत योगदान गरेका खेलाडी घाइते छन्, उपचारको लागि सहयोग संकलन गर्नुपर्ने अवस्था छ, त्यसैले सम्बन्धित निकायहरुको ध्यानार्कषण गराउने माध्यमकोरुपमा पनि यो कार्यक्रम गर्दैछौं,’प्रशिक्षक राईले भने,‘खेलाडी घाइते हुँदा उपचारमा राज्यले, सम्बन्धित निकायले हेर्ने कि नहेर्ने ?’

बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामाले पनि खेलाडी घाइते हुँदा राज्यको पनि दायित्व हुन्छ भन्ने सन्देश दिन आयोजना गरिएको बताए । उनले नगरपालिकादेखि प्रदेश सरकारले खेलकुदको बजेट विनियोजना गर्दा खेल सञ्चालनको लागि मात्र नभै खेलाडीहरु कुनै पनि घाइते हुन सक्छ भनेर भैपरि आउने कोष पनि छुट्याउन माग गरिने बताए । प्रदेश टिमको लागि खेलिसकेका खेलाडीहरुलाई विमाको व्यवस्था गरिदिन माग गर्दै स्थानीय सरकार, प्रदेश सरकारमा जाने उनले बताए ।
घाइते खेलाडी गुरुङ ७ औं र ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ च्याम्पियन हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिएका थिए । उनी अहिले पनि प्रदेश १ को बास्केटवल टिमका खेलाडी हुन् । सुनसरी बास्केटवल संघले आयोजना गरेको ट्यालेण्ट हण्टबाट उनी छात्रवृत्ति पाएका खेलाडी हुन् । 
यसअघि पनि प्रदेश १ का टिम क्याप्टेन हेमन्त राई पनि करिब ३ बर्षअघि घाइते भएका थिए । उनको पनि घँुडाको अप्रेशन गरेपछि सक्रिय खेल खेल्नबाट बञ्चित भएका छन् । त्यसपछि उनी विद्यालयमा प्रशिक्षककोरुपमा कार्यरत थिए । तर लकडाउनको कारण विद्यालय बन्द हुँदा उनी पनि बेरोजगार छन् ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



