धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आधा जति एजेण्डाहरुमा छलफल तथा अनुमोदन गर्दे स्थगित भएको छ ।

ढिलाई गरि शुरु भएको बैठकमा समय अभाव भएपछि आइतबार बैठक बस्ने गरि स्थगित भएको हो । कार्यपालिका बैठकमा विविधसहित २१ वटा एजेण्डाहरु थिए । बिहान ८ बजे बैठक बस्ने भनिए पनि त्यसअघि नेकपा धरानको संसदीय दलको बैठक बसेकोले समयमा नै कार्यपालिका बैठक शुरु हुन सकेन । करिब १० बजेतिर मात्र कार्यपालिका बैठक शुरु भएको थियो । ‘२१ वटा एजेण्डा थियो, १२ वटा जति एजेण्डा छलफल गरेर सक्यौं । बैठक बस्न पनि ढिला भयो,’मेयर राईले भने,‘वडा अध्यक्षहरु वडा कार्यालयको पनि काम गर्नुपर्ने भएकोले बैठकमा मात्र अल्झिनु भएन, त्यसैले आइतबार बस्ने गरि आजलाई सक्यौं ।’

बैठकले वडा नं २० विष्णुपादुकामा ५ बेडको कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ भने २५ डिसेम्बर अर्थात क्रिष्टमस डे को दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय पनि भएको मेयर राईले जानकारी दिए । ‘उहाँहरुको माग पनि थियो । वडाहरुबाट सुझाव पनि माग्यौं, धरानमा इसाई धर्मावलम्बीहरुको सघन बसोबास पनि भएकोले आज कार्यपालिकामा छलफल गर्दा पनि उपयुक्त हुन्छ भन्ने भएकोले स्थानीय विदाकोरुपमा क्रिष्टमस डेमा सार्वजनिक विदा दिने निर्णय भयो,’मेयर राईले भने ।

karya

बैठकले धरान २० विष्णुपादुका, कोकाह र चिण्डे डाँडा समेटेर पर्यटन गाउँ बनाउने निर्णय पनि गरेको छ । यसको गृहकार्य पर्यटन विकास समिति र पर्यटन महाशाखाले गर्नेछ । यस्तै, स्मार्ट बसपार्कको संशोधित डिपिआर पनि स्वीकृत गरिएको छ । ‘पहिला प्रस्तुत गरिएको डिपिआरलाई हाम्रो बजेटको सिलिङ अनुसार स्रोत सुनिश्चित हुने गरि संशोधन गरिएको छ, त्यसलाई अनुमोदन गरियो,’मेयर राईले भने ।

यस्तै, बैठकले खानेपानी आयोजनाको परामर्शदाता कम्पनी बिडिएलाई पनि निरन्तरता दिने निर्णय गरेको छ । यसको लागि बिडिएले प्रस्ताव गरेको बजेटलाई घटाइएकोछ । योजना सम्पन्न गर्नको लागि परामर्शदाताको इञ्जिनियर अनिवार्य हुनुपर्ने भएकोले उपमहानगरलाई बिडिए ल्याउनु बाध्यकारी भएको हो । वडा नं ९ का अध्यक्ष रत्न कटुवालका अनुसार खानेपानी संस्थानको मंसिर मसान्तसम्मको हिसाब किताब भइसकेको छ भने संस्थानलाई केही दिनभित्रै बोर्डमा समायोजन गरिनेछ । ‘२ वटा आवश्यक प्रक्रिया नपुगेको भनेर एजेण्डाबाट हटाइयो । घरनक्सा पास र बाटो दर्ता सम्बन्धी एजेण्डालाई गृहकार्य नपुगेकोले अर्को बैठकमा ल्याउने गरि हटाइयो,’अध्यक्ष कटवालले भने ।