धरान: संसद विघटन र नेकपा विभाजन पछि बागमती प्रदेशमा हिजो मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश नं १ मा पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा चुलिएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई नेकपा(ओली समुह)का हुन् । नेकपाको संसदीय दलमा मुख्यमन्त्री राई अल्पमतमा परेकोले प्रचण्ड-माधव समुहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको नेकपाकै नेताहरु बताउँछन् । हस्ताक्षर संकलनसमेत भइरहेको चर्चा भएपनि प्रचण्ड-माधव पक्षका सांसदहरुले त्यसलाई अस्वीकार गरेका छन् । तर पार्टी विभाजन भइसके पछि अविश्वासको प्रस्ताव दर्ता हुनु स्वभाविक भएको उनीहरुको भनाई छ ।

मुख्यमन्त्री राईले २६ मत पाएर तत्कालिन नेकपा एमालेको संसदीय दलको नेता भएका थिए । उनले भीम आचार्यलाई २ मतले हराउदै मुख्यमन्त्री बनेका थिए । प्रदेशसभामा पुर्वएमालेतर्फका ५१ जना सांसद छन् भने पुर्वमाओवादीतर्फका १६ जना छन् । प्रदेशसभा ९३ जनाको रहेको छ । सभामुख र उपसभामुख पनि नेकपाकै भएकोले ९१ जना सांसदको बहुमत सिद्ध गर्न ४७ जना सांसद आवश्यक पर्छ । नेकपाको ओली समुह र प्रचण्ड माधव समुहले नै आफुहरुको पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन् ।

अविश्वास प्रस्ताव ल्याउन हतारो छैन: आङ्बो

indra-angboo

प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रचण्ड समुहका नेता इन्द्र आङ्बो पार्टी विभाजित भइसके पछि संसदीय दल पनि विभाजन हुने बताउँछन् । तरपनि अविश्वासको प्रस्ताव ल्याउन हतारो नभएको उनले बताए । ‘पार्टी विभाजित भइसकेपछि संसदीय दल पनि विभाजित हुन्छ नै, मुख्यमन्त्री ज्युले अर्को दललाई साथ लिएर सरकार बनाउने कि हामीले बनाउने भन्ने हुन्छ,’आङ्बोले भने,‘यो बिषयमा हामीलाई हतारो छैन ।’

उनले अविश्वासको प्रस्ताव दर्ता गर्ने तत्काल तयारी नभएको पति बताए । प्रदेश संसदको अवस्था हरेर, छलफल गरेर अघि बढ्ने उनको भनाई छ । बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री ओलीले के कदम अघि बढाउछन् भनेर प्रतिक्षा गर्ने र सोही अनुसार अघि बढ्ने प्रचण्ड माधव समुहको योजना छ । आङ्बो भन्छन्,‘प्रधानमन्त्रीले सातै प्रदेशसभा विघटन गर्ने कुरा पनि चलिरहेको छ । हामी बहुमतमा छौं, के हुन्छ हेछौं ।’
प्रचण्ड समुहकी प्रदेशसभा सांसद उमिता वराइलीले पनि अविश्वासको प्रस्ताव दर्ताको बिषयमा हस्ताक्षर संकलन नभएको बताइन् । ‘हल्ला सुनिएको हो, कुनै जानकारी आएको छैन,’उनले भनिन् ।

दलभित्र हाम्रो बहुमत पुग्छ: प्रमुख सचेतक भण्डारी

प्रदेश १ को नेकपाका प्रमुख सचेतक बुद्धि राजभण्डारी ओली समुहका हुन् । उनी पनि पार्टी विभाजन भइसकेपनि दुवै समुहले आफुलाई बहुमत सिद्ध गर्ने र अविश्वासको प्रस्ताव दर्ता गरेर मतदान गर्ने प्रक्रिया स्वभाविक हुने बताउँछन् । ‘आ आफ्नो बहुमत सिद्ध गर्ने नै हो । अविश्वासको प्रस्ताव दर्ता हुन्छ, छलफल हुन्छ, मतदात हुन्छ । बहुमत सिद्ध भयो भने उहाँहरु सरकारमा बस्नुहुन्छ,’भण्डारी भन्छन् ।

प्रदेशसभामा ओली र प्रचण्ड दुवै समुहको बहुमत(४७ सांसद )पुग्दैन । त्यसैले दुवै समुह बहुमत पुर्याउन कोसिस गरिरहेका छन् । प्रमुख सचेतक भण्डारी नेपाली कांग्रेसको समर्थन नभए बहुमत कसैको नपुग्ने र प्रदेशसभा विघटन हुने बताउँछन् । ‘हामी पनि बहुमत पुर्याउन कोसिस गरिरहेका छौं, उहाँहरु पनि ४७ जना पुर्याउन मरिहत्ते गरिरहनु भएको छ,’उनले भने,‘नेपाली कांग्रेस सरकारमा आएन भने प्रदेशसभा विघटन हुन्छ ।’ भण्डारीले तत्कालिन नेकपा एमालेको संसदीय दलमा शेरधन राई चुनिएको ३ महिना पछि नै अर्को खेमा अविश्वासको प्रस्ताव दर्ता गर्ने खेलमा लागेको पनि दाबी गरे । उनले संसदीय दलभित्र ओली समुहको बहुमत पुग्ने पनि दाबी गरे । उनले भने,‘हामी दलभित्र बहुमत पुग्छौं, हाम्रो पक्षमा २८ भन्दा माथि सांसद हुन्छ ।’

नेपाली कांग्रेस निर्णायक, केन्द्रको निर्देशनको प्रतिक्षा

Rajib Koirala-clickdharan

प्रदेशसभामा कस्को नेतृत्वमा सरकार बन्ने वा प्रदेशसभा विघटन हुने कि नहुने भन्ने निर्णायक अवस्थामा नेपाली कांग्रेस छ । नेकपा विभाजन भएको स्थितिमा ओली समुह वा प्रचण्ड दुवैको प्रदेशसभामा बहुमत ४७ जना नपुग्ने अवस्था छ । त्यसैले दुवै पक्षले प्रतिपक्षी दल कांग्रेसको साथ खोजीरहेको छ ।

प्रतिपक्षी दल कांग्रेस भने पर्ख र हेरको स्थितिमा छ भने केन्द्रको निर्देशनको प्रतिक्षामा पनि रहेको छ । प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला नेकपाको दुवै समुहको अंकगणित प्रष्ट भएपछि मात्र निर्णायक कदम चाल्ने बताउँछन् । ‘दुवै समुह हामीसँग बहुमत छ भनेर लागेको छ । उहाँहरुको अंकगणित क्लियर होस्, त्यसपछि अवस्था हेरेर र केन्द्रको निर्देशन वमोजिम कदम चाल्छौं,’उनले भने,‘अहिले नै सरकारमा जाने भन्ने छैन । परिस्थिति हेरेर निर्णय गछौं ।’

कांग्रेससँग मुख्यमन्त्री राईले पनि कुरा गरेका छन् भने प्रचण्ड माधव समुहबाट पनि कुराकानी भइरहेको छ । कोइरालाले दुवै समुहले सम्पर्क गरेर छलफल भएको स्वीकार गरेका छन् । ‘मुख्यमन्त्रीसँग सामान्य भेटघाट भएको छ, उता(प्रचण्ड समुह)बाट पनि फोन भएको छ,’कोइरालाले भने ।