धरान: दोस्रो वार्सटाइनर भेट्रान फुटसल प्रतियोगिताको उपाधि झापाको भेट्रान फुटसल क्लबले जितेको छ ।
धरान ८ स्थित बिग फुटसलमा आयोजित प्रतियोगितामा धरानको बार्बर सप फुटसल भेट्रानलाई फाइनलमा ७-२ गोलअन्तरले हराउदै झापाले उपाधि जितेको हा । उपाधिसँगै झापाले नगद ३० हजार र ट्रफी पनि हात पारेको छ । उपविजेता बार्बर सपले नगद १५ हजारमा चित्त बुझायो ।
प्रतियोगितामा हाइ स्कोरर बार्बर सपका राकेश राई घोषित भए । प्रतियोगितामा कुल ८ गोल गरेका उनले केल मिको गिफ्ट र १५ सय हात पारे । यस्तै, वेष्ट प्लेयरमा झापाका प्रवेश कटवाल घोषित हुदै उनले पनि केल मिको गिफ्ट र नगद २ हजार पुरस्कार पाए । वेष्ट गोल किपर पनि झापाका घोषित भएका थिए ।
कुल १२ टिम सहभागी प्रतियोगिताको उद्घाटन एन्फा केन्द्रीय मानार्थ उपाध्यक्ष एवं प्रदेश १ अध्यक्ष किसोर राईले गरेका थिए । समापनमा धरानका मेयर तिलक राईले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । मेयर राई आफै पनि धरानको टिमबाट खेलेका थिए । कुल सहभागी टिम मध्ये धरानभित्रका ७ वटा र अन्य दमक, विर्तामोड, तरहरा, विराटचोकका टिम थिए । धरान फुटसल क्लबले आयोजना गरेको प्रतियोगितामा स्वर्गीय पुर्वखेलाडी बिक्रम राईप्रति श्रद्धाञ्जली कार्यक्रम पनि गरिएको थियो ।