धरान: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई आरामले सामना गर्ने बताएका छन् ।

नेकपाकै प्रचण्ड माधव समुहले आज अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् । उनले अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम वा काम गर्न नसकेर आएको नभै सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशिन भएर आएको पनि बताए । उनले प्रदेशहरुलाई कमजोरब नाउने, अस्थिरता, अराजकता, अव्यवस्था निम्त्याउदै संघीयतालाई संस्थागत हुन नदिने मनसायबाट प्रस्ताव दर्ता भएको टिप्पणी गरे ।

‘यसको सामना म आरामले गर्छु, किन गर्छु भन्दा विवके भएका माननीय सदस्यहरु प्रदेशसभामा हुनुहुन्छ । उहाँहरुले बनिबनाउ, सुनियोजित, निर्देशित चालबाजी हो, गोटी हो भन्ने राम्रो बुझ्नु भएको छ,’मुख्यमन्त्री राईले भने,‘मुख्यमन्त्रीले सफल नेतृत्व गरिराखेको छ, सही दिशामा प्रेशलाई अघि बढाइराखेको छ भन्ने प्रदेशसभाका बहुमत मानीयहरुलाई राम्रो थाह छ ।’

मुख्यमन्त्री राईले आफुले सुविधाजनक बहुमतको साथमा अविश्वासको प्रस्तावलाई प्रदेशसभामा सामना गर्ने र प्रदेशलाई कोल्याप्स बनाउन उद्देश्यलाई असफल बनाउने पनि दाबी गरे । उनले भने,‘म सुविधाजनक बहुमतको साथमा प्रदेशसभामा सामना गर्छु, र प्रदेशलाई कोल्याप्स गर्ने तहस नहसबनाउने चाहना, उद्देश्य र कदमलाई असफल तुल्याउछौं ।’

संविधान जारी गरेको दिनदेखि नै संविधान र संघीयतालाई कार्यान्वयन गर्न नदिन अनेक प्रयासहरु भइरहेको उनले बताए । संघीयता र संविधान कार्यान्वयन नहोस्, देश द्धन्दतिर र असफतातिर जोओस् भन्ने चाहना राख्नेहरुलाई सहयोग पुग्ने गरि संघीय सरकारलाई पार्टीभित्रैबाट घेराबन्दी गरिएको मुख्यमन्त्री राईले बताए । ‘प्रधानमन्त्रीलाई बन्द कोठामा राखेर लेनदेन गर्न घेराबन्दी गरियो, प्रधानमन्त्रीले उपयुक्त लोकतान्त्रिक गणतन्त्रको विकल्पकोरुपमा ताजा जनादेशमा जाने विकल्प रोज्नुभयो, त्यो सही थियो,’उनले भने,‘किनभने, जनताको म्याण्डेटलाई बन्द कोठामा कसैको आग्रहमा, कसैको महत्वकांक्षामा, लोभ र चाहनामा उहाँले साट्न मिल्दैनथ्यो, उहाँले जनतामा नै ताजा जनादेशको निम्ति जानुपथ्यो, त्यो कदम चाल्नुभयो ।’