धरान: डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै प्रदेश नम्बर १ ले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी २० प्रतियोगिताको उपाधि जितेको छ।
उपाधिको दाबेदार समेत रहेको एपिएफलाई ६ रनले हराउँदै प्रदेश १ ले उपाधि जितेको हो। दाङको लमही क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले १०६ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई पछ्याएको एपिएफले निर्धारित २० ओभरमा मात्र ९९ रन बनाउन सक्यो । रोमाञ्चक खेलमा प्रदेश १ का कप्तान रूविना क्षेत्री र आलिसा खडियाले समान २/२ विकेट लिइन् भने संगीता राईले १ विकेट लिइन्।
एपिएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रन बनाइन्। करूणा भण्डारीले २६ रन बनाउँदा ज्योति पाण्डेले १४ रन जोडिन्। प्रदेश नं १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०५ रन बनाएको थियो। प्रदेश १ को ब्याटिंगमा ओपनर अप्सरी बेगमले सर्वाधिक ३५, काजल श्रेष्ठले अविजित २९ तथा कप्तान रुबिना क्षेत्रीले १८ रन योगदान दिएका थिए। अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले ५८ रनको सर्वाधिक ओपनिङ साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए।
एपीएफको बलिंगमा कप्तान सिता राना मगरले सर्वाधिक ३ विकेट हात पारिन् भने करुणा भण्डारीले १ विकेट लिइन् । प्रतियोगिताको समुह चरणको खेलमा एपीएफ समुह ‘ए’ बाट र प्रदेश नं १ समुह ‘बि’ बाट विजेता हुदै फाइनल पुगेको थियो । प्रतियोगिताको विजेता प्रदेश १ ले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाएको छ भने उपविजेता एपिएफले ३ लाख पाएको छ।