इटहरी: नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ ।
मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौँमा ईन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीबीच बीमा सम्झौता भएको छ । अध्यक्ष अधिकारीका अनुसार जिल्लाका दुई सय ६० जना पत्रकारहरुको एक वर्षे दुर्घटना बीमा गरिएको हो । सम्झौतामा एक वर्षसम्म बीमा गरेका पत्रकारको दुर्घटनामा मृत्यु भएमा ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजार सम्म प्रदान गरिने उल्लेख गरिएको छ ।
युनियनले यसअघि पनि पत्रकारहरुको कोरोना विमा गरेको थियो । कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुले जनही एक लाख वीमा वापतको रकम पाइरहेका छन् । ‘हामीले यसअघि कोरोना बीमा गरेका पत्रकारहरुको दुर्घटना बीमा गरिएको हो,’ अधिकारीले भने, ‘युनियन सुनसरीले विराटनगरको नोबेल अस्पतालसँग जिल्लाका पत्रकारको उपचारका लागि ५० प्रतिसत छुट गर्नेगरीको सम्झौता समेत भएको छ ।’
उनका अनुसार यसअघि कोरोना बीमा गरिएकामध्ये ३२ जनालाई संक्रमण भएको र ती मध्ये २२ जनाको जनही १ लाखका दरले पैसा आइसकेको छ । ‘१६ जनाको हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकी ७ जनाको केही दिनमा एक कार्यक्रम गरी पैसा हस्तान्तरण गरिनेछ, अन्य दश जनाको आउने प्रक्रियामा छ ।’ उनका अनुसार यसअघि युनियन कार्यसमितिले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालनमा ल्याएको थियो ।
फन्ट्रलाइनमा रहेर दैनिक फिल्डमा खट्ने पत्रकारहरु जोखिममा रहेकाले आँफूहरुले उक्त बीमाको कार्यक्रम ल्याईएको उनको भनाई छ । उनका अनुसार सुनसरीका दुई सय ६० जना पत्रकारले आफ्नो परिचय खुल्ने परिचयपत्र उपलब्ध गराएपछि बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।