धरान: प्रदेश १ मा नेकपाको प्रचण्ड माधव समुहका सांसदहरुको बैठकमा ३२ जना सांसदहरु सहभागी छन् ।

विराटनगरस्थित होटल एसियाटिकमा जारी बैठकमा सहभागी सांसदहरुले बोल्ने क्रम सकिएको छ । बैठककको अन्तिममा नेता भीम आचार्यबाट निर्देशनात्मक मन्तव्य मात्र बाँकी छ । बैठकमा सहभागी सांसद उमिता बराइलीले बैठकमा ३२ सांसदमात्र उपस्थित भएपनि आफुहरुको पक्षमा ४२ जना सांसद पुगिसकेको दाबी गरिन् । केही सांसदहरुले धोका नदिएको भए आफुहरुको एकलौटी सरकार बन्ने अवस्था रहेको उनले बताइन् । ‘केही सांसदहरु काठमाण्डौंमा हुनुहुन्छ, उहाँहरुको फ्लाइट डिले भएर आउन सक्नुभएन,’उनले भनिन्,‘तर हाम्रो पक्षमा ४२ जना सांसदहरु पुगिसक्यो । केही साथीहरुले धोका नदिएको भए एकलौटी सरकार बन्थ्यो ।’

आजको बैठकमा प्रचण्ड माधव समुहका नेता एवं नेकपा संसदीय दलका उपनेता टंक आङबुहाङ पनि अनुपस्थित थिए । उनले आफु काम बिशेषले काठमाण्डौंमा भएकोले बैठकमा उपस्थित हुन नसकेको बताए । ‘कित्ता परिवर्तन गरेको होइन, काम बिशेषले काठमाण्डौंमा छुँ,’उनले क्लिक धरानसँग भने,‘आजको बैठक निर्णायक पनि होइन, निर्णायक त अन्तिममा मतदानको बेला नै हुन्छ ।’

prachanda-madhav-sansad

प्रदेश १ मा सरकार बनाउनको लागि ४७ जना सांसदहरु आवश्यक पर्छ । प्रदेशसभामा ९३ सदस्यीय रहेको छ । सभामुख र उपसभामुख बाहेक ९१ जना सदस्य छन् । त्यसमा नेकपाको मात्र ६५ जना सांसद छन् । प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री शेरधन राईलाई सरकार टिकाउन प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ आवश्यक छ भने प्रचण्ड माधव पक्ष पनि कांग्रेसको समर्थनको आशामा छ । तर, कांग्रेसले भने कुन समुहलाई सहयोग गर्ने भनेर निर्णय गरिसकेको छैन ।

सबै विकल्प खुला राख्ने

नयाँ सरकार गठनको लागि सबै दलसँग मिलेर जाने निष्कर्ष प्रचण्ड माधव समुहको छ । यसको लागि मुख्यमन्त्री पद पनि खुला गर्ने प्रचण्ड माधव समुहको रणनीति छ । बैठकमा धारणा राखेका सांसदहरुको भनाईको निष्कर्ष सुनाउदै सांसद उमिता वराइलीले भनिन्,‘मुख्यमन्त्री पदलाई पनि खुला नै गर्ने भन्ने हो । हामी नै हुनुपर्छ भन्ने छैन । सबै विकल्पको ढोका खुला छ ।’