इटहरी: नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ ।

अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व केन्द्रीय सदस्य दिवश पोखरेलका अनुसार आफूहरुलाई डकुमेन्ट प्राप्त भएको आधारमा बिमा गरिएको हो । ‘हामीलाई प्राप्त भएको सिफारिस र अन्य विवरणको आधारमा बिमा गरिएको हो,’उनले भने,‘करीब चार सयको विवरण आएको थियो, तर केही नामहरुको डकुमेन्ट नपुगेकाले हामीले उनीहरुको बिमा गर्न सकेनौँ ।’ उनले जिल्लाका सबै सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरु समेटिएको बताए ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले यसअघि युनियनले कोरोना बिमा पनि गरेको र अहिले दुर्घटना बिमा गरेको बताए । ‘हामीले यसअघि कोरोना बिमा गरिएको दुई सय ६० पत्रकारमध्ये ३२ जनालाई कोरोना लागेको थियो,’उनले भने,‘ती मध्य २२ जनाको एकलाखका दरले रकम आइसकेको छ ।’ उनका अनुसार दुर्घटना बिमा गरेका सञ्चारकर्मीको दुर्घटना भएर मृत्यु भएमा परिवारले सात लाख रुपैँया हात पार्नेछन् भने घाइते भएमा उपचार खर्च वापत ७० हजार रुपैँया सम्म रकम पाउनेछन् । यसैगरि, युनियनका प्रदेश १ भरीका अध्यक्षहरुको पनि बिमा गरिएको छ । सुनसरी अध्यक्ष अधिकारी सहित प्रदेश १ का १४ जिल्लाका अध्यक्षहरुको बिमा पनि गरिएको हो ।