धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुनसरीबाट अण्डर १३ उमेर समुहका ३५ जना खेलाडीहरु छनौट गरेको छ ।

एन्फा सुनसरीले इटहरी ९ स्थित जनता स्कूलको मैदानमा बिहिबार र आज शुक्रबार छनौट कार्यक्रम आयोजना गरेर ३५ जना खेलाडीहरु छनौट गरेको हो । छनौट कार्यक्रममा जिल्लाका विभिन्न ५ क्षेत्रबाट पहिलो चरणको छनौटमा सफल भएका १ सय २५ जना सहभागी भएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । ती मध्ये उत्कृष्ट ३५ जना छनौट गरिएको उनले बताए ।

जिल्लाबाट छनौट भएका ३५ जना खेलाडीहरुले अब प्रदेश छनौटमा स्पर्धा गर्नुपर्नेछ । त्यहाँबाट सफल भएका खेलाडीहरुले पुनः राष्ट्रिय छनौटमा सहभागी हुने अवसर पाउनेछन् । एन्फाले यसअघि नै सुनसरीमा धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट प्रारम्भिक चरणको खेलाडीहरु छनौट गरेको थियो । छनौटमा सहभागीहरुको जन्मदर्ता, खेल प्रदर्शन हेरेर छनौट गरिएको एन्फा सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । अण्डर १३ मा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गतेभित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो । सहभागीहरुलाई समुह समुह बनाएर प्रतिस्पर्धा गराइएको मानन्धरले जानकारी दिए ।

एन्फाले २०७८ सालदेखी क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए.एफ.सि.लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ । त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरु ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालिएको हो । विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र र जनपथ प्रहरी र केही ए डिभिजन क्लबहरुले पनि एकेडेमी राख्ने तयारी गरेका छन् । ती एकेडेमीमा यो छनौट कार्यक्रमबाट छानिएका उत्कृष्ट खेलाडीहरु रहने छन् ।