धरान: कोरोनाविरुद्धको खोप लगाउनेको संख्या धरानमा न्युन भएको छ ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका १६ सय जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । तर, तीन दिनमा लक्ष्य अनुसार खोप लगाउन नआए पनि आज थप एक दिन समय थपिएको थियो । थप गर्दा पनि अपेक्षा अनुसार खोप लगाउनेको संख्या वृद्धि हुन सकेन । धरान १ छाताचोकस्थित पुरानो अस्पतालमा खोप केन्द्र राखिएको थियो । चार दिनसम्म धरानमा ६३० जनाले मात्र खोप लगाएको धरान उपमहानगर स्वास्थ्य महशाखाकी नर्सिङ निरीक्षक दीपा अधिकारीले जानकारी दिइन् ।

अधिकारीहरुका अनुसार पहिलो दिन खोप लगाउनेको संख्या ९० जना थियो भने दोस्रो दिन १९० जना पुगेको थियो । तेस्रो दिन २६० जना भएको थियो भने चौथो दिन ९० जना मात्र भए । ‘खोप लगाउन बैंक, बित्तिय संस्था, टेलिकम, खानेपानी संस्थानबाट र छुटेका स्वास्थ्यकर्मी स्वयमसेविकाहरु आउनु भयो,’अधिकारीले भनिन्,‘तर जनप्रतिनिधिहरुको संख्या ज्यादै थोरै भयो ।’ उनका अनुसार आज २५ जना पत्रकारहरुले पनि खोप लगाएका छन् । यसअघि पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरहरुलाई पनि खोप लगाइएको थियो । 

प्रचारको अभाव र डरको कारणको संख्या कम

khop1

विश्वलाई त्राहिमाम बनाएको कोरोनाविरुद्धको खोप लगाउने संख्या कम हुनुमा कतिपयले थाहै नपाएको र कतिपय भने डरको कारण भएको अधिकारीले बताइन् । उनले भनिन्,‘कतिले भर्खर थाह पाएर आएको भने । कतिलाई भने साइड इफेक्ट होला कि भन्ने डरले पनि खोप नलगाई बसेका छन् ।’

खोप लगाएका केही व्यक्तिलाई मात्र वाक वाक लाग्न खोज्ने, टाउको दुःख्ने, ज्वरो आउने र जीउ दुख्ने लक्षण देखिन सक्ने अधिकारीले बताइन् । तर, २४ घण्टा पछि आफै यस्ता लक्षणहरु हराएर जाने उनको भनाई छ । ‘सानो बच्चालाई पनि त खोप लगाउदा ज्वरो आउने हुन्छ, तर आफै ठिक हुन्छ । यो खोप लगाउदा पनि त्यस्तै हो,’उनले भनिन्,‘कोभिसिल्ड लगाउदा नराम्रो वा अस्पताल भर्ना गर्नुपर्ने कसैलाई भएको छैन । चौबिस घण्टा पछि आफै हराएर जान्छ, चिन्ता लिनुपदैन ।’