धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरुले गत बर्षको कोभिड जोखिम भत्तालगायत विभिन्न ७ बुँदे माग राखेर पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
उनीहरुले आज प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, अस्पताल निर्देशक, रेक्टर र मेट्रोनलाईसमेत ध्यानाकर्षण पत्र बुझाएका हुन् । उनीहरुले गत बर्षको कोभिड जोखिम भत्ता उपलब्ध गराएर मात्र पुराना स्टाफ नर्सहरुलाई यसपाली कोभिड अस्पतालमा परिचालन गर्नुपर्ने माग राखेका छन् । गत बर्ष कोभिड अस्पतालमा खटिएका थुप्रै स्टाफ नर्सहरुले अहिलेसम्म भत्ता नपाएको गुनासो छ ।
यस्तै, गत बर्ष बृद्धि भएको तलब यही जेठ महिनाभित्र एकमुष्ट उपलब्ध गराउनुपर्ने, कोभिड डिउटीको अवधि घटाएर क्वारेन्टाइन र खानाको व्यवस्था गर्नुपर्ने पनि उनीहरुको माग छ । यसैगरि, पिपिई सेट अनिवार्य उपलब्ध गराउन, कोभिड स्वास्थ्य विमा, औषधी उपचारलगायतको पनि व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।