धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक महिनाभित्र काठमाण्डौं बाहिर उच्च क्षमताको सिटि स्क्यान सञ्चालनमा आउने बताएका छन् ।

धरान नागरिक दबाब समुहले ध्यानाकर्षण पत्र बुझाउन आयोजित कार्यक्रममा बोल्दै उपकुलपति गिरीले एक महिनाभित्र नयाँ सिटि स्क्यान प्रतिष्ठानमा आउने बताएका हुन् । उनका अनुसार यो सिटि स्क्यान २५६ स्लाइसको हुनेछ । यो उच्च क्षमताको हो । काठमाण्डौं बाहिर पहिलो पटक वीपीमा सञ्चालनमा आउने उनको दाबी छ । ‘काठमाण्डौंबाहिर पहलिो चोटी २५७ स्लाइसको सिटि स्क्यान अब एक महिनाभित्र इन्स्टल हुदैछ, प्रक्रिया पुरा भइसकेको छ,’गिरीले भने ।

यसैगरि, प्रतिष्ठानमा ३ टेस्लाको एमआरई मेशिन ल्याउनको लागि प्रक्रिया शुरु भएको पनि उपकुलपति डा.गिरीले जानकारी दिए । अर्को १.५ टेस्लाको एमआरई मेशिन पनि खरीद प्रक्रिया पाइपलाइनमा रहेको उनले बताए । काठमाण्डौं बाहिर हाल कोरोना संक्रमितको जटिल उपचार वीपी प्रतिष्ठानमा मात्र भइरहेको उपकुलपति डा.गिरीको भनाई थियो । ‘जटिल केसहरु हामीलाई रिफर भएर आउछन् । अफ्ठेरो विरामीहरुको उपचार हामीले गरिरहेका छौं,’उनले भने । 

bp-gyapan2

कोभिड १९ अस्पतालमा सय बेड भएपनि त्यहाँ गाइनो, सर्जरी, डाइलाइसिसको लागि पनि बेड छ्ट्याइएको कारण एक सय बेड भर्ना भएको नदेखिने उनले प्रष्ट्याए । चाडै प्रतिष्ठानमा २ सय बेड थपिने र कोभिडको तेस्रो, चौथो लहरको चुनौतीलाई सामना गर्न तयारी गरिने पनि उपकुलपति गिरीको भनाई थियो । ‘अब २ सय बेड थपिदैछ, प्रक्रिया शुरु भइसकेको छ, बेड क्षमता विस्तारमा लागेका छौं । तेस्रो र चौथो लहर चुनौतीपुर्ण छ, त्यसको लागि तयारीमा छौं,’उनले भने,‘२० प्रतिशत बच्चाको लागि छुट्याएको छौं, १० प्रतिशत आइसियु पुगोस् भनेर ध्यान दिएका छौं, तयारी शुरु गरेका छौं ।’

विगत तीन बर्षदेखि खण्डर बनेर रहेको एमसिएच भवनको निर्माण कार्य सुचारु भएको र ८० प्रतिशत काम सकिएको पनि उपकुलपति डा.गिरीले बताए । उनले ४ सय बेडको एमसिएच अबको ६ महिनादेखि १ बर्षभित्र सञ्चालनमा आउने पनि बताए । यद्यपी उनले कोभिडको कारण प्रतिष्ठानले पाउनुपर्ने बजेटमा ठुलो कटौती भएकोले समस्या भएको पनि खुलाए । ‘कोभिडको कारण पाउनुपर्ने बजेट कम भएको छ । ५० प्रतिशत बजेट कटौती भएको छ, यो हाम्रो मात्र होइन, सबैको भएको छ,’ उपकुलपति डा.गिरीले भने । 

'खरीद नियमभन्दा बाहिर गएको प्रमाणित भए राजिनामा दिन्छुँ'

उपकुलपति डा.गिरीले खरीद प्रक्रियामा नियम भन्दा बाहिर गएको प्रमाणित भए राजिनामा दिन तयार रहेको बताएका छन् । उनले आफुहरुको कमीकमजोरीलाई औल्याइदिदा सुधार गर्ने प्रतिवद्धता जनाउदै सार्वजनिक खरीद ऐनभन्दा बाहिर गएर खरीद नगरिएको दाबी गरे । 

‘यो विगत १४ महिनामा कुनै पनि खरीद नियमभन्दा बाहिर गएको छ भने औल्याइदिनुस्, हामी जे पनि सजाय सहन पाउन तयार छौं, प्रमाणित गरिदिनुस्, पदको लोभ छैन, राजिनामा दिन तयार छुँ,’उनले भने,‘ म पनि यही विराटनगरमा बसेको मान्छु हुँ, यो संस्था जन्मदा मेरो पनि योगदान छ । सिनेटको सदस्य भएर काम गरेको छुँ । मेरो पनि सम्बन्ध छ ।’