धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दिन प्रतिदिन अस्तब्यस्त बन्दै गएको छ । 

पदाधिकारीहरु समस्या समाधान गर्न नसक्दा प्रतिष्ठानका अस्तब्यसत एवं धरासायी बन्दै गएको हो । प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरु दुई सातादेखि सुद्धिकरण गर्न आन्दोलनमा छन् । हिजो आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर उपकुलपति डा.ज्ञानेन्द्र गिरी मदिरा पिएको अवस्थामा आएपछि आन्दोलन थप चर्किएको छ । संयुक्त संघर्ष समितिले यहाँका पदाधिकारीहरुसँग वार्तामा नबस्ने र चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने माग राखेको छ ।

संयुक्त संघर्ष समितिले आज बिहान चारै जना पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरेको छ भने सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन् । यसैगरि, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न माग गरेको संघर्ष समितिले यहाँको पदाधिकारीहरु चयन गर्दा विशिष्टिकृत एवं विज्ञहरुको समुह बनाएर उक्त समुहले सिफारिश गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि माग गरेको छ । 

bp-tala

यी मागहरु पुरा गर्न संयुक्त संघर्ष समितिले एक हप्ताको अल्टिमेटम दिदै सम्बोधन नगरे सामुहिक राजिनामा दिने र प्रधानमन्त्री कार्यालय घेराउ गर्न काठमाण्डौं जाने घोषणा गरेको छ । उपकुलपति डा.ज्ञानेन्द्र गिरीले हिजो संघर्ष समितिलाई वार्तामा बोलाएका थिए । अन्य पदाधिकारीहरुसहित वार्तामा बसेका उपकुलपति गिरी मदिरा पिएको अवस्थामा आएपछि वार्ता भाँडिएको थियो ।

संघर्ष समितिले उनको मेडिकल जाँच गर्न माग गरेपनि प्रहरीले हस्तक्षेप गरेर जाँच गर्न दिएन । आन्दोलनरत पक्षले राती करिब ९ बजेसम्म उपकुलपति कार्यालय घेराउ गरेको थियो । पछि प्रहरीले उपकुलपति गिरीलाई उनको निवास विराटनगर पुर्याएको छ । मदिरा पिएर आएका उपकुलपतिलाई वार्तामा राख्ने अन्य पदाधिकारीहरु पनि उतिकै दोषी भएको संघर्ष समितिको भनाई छ ।