धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आएको छ ।
यो ट्यांक २० हजार लिटर क्षमताको हो । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख बजेटबाट यो ट्यांक स्थापना भएको प्रतिष्ठानले जनाएको छ । यो ट्यांक स्थापना गरिए पछि मुख्य अक्सिजन प्लान्ट बिग्रदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउदा लिक्विड अक्सिजन ट्यांकबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरुमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ‘यो वैकल्पिक अक्सिजनको व्यवस्थापन हो, ब्याकअपकोरुपमा रहन्छ,’उनले भने,‘अक्सिजन प्लान्ट चलेन र सिलिण्डर पनि भएन भने पनि यो ट्यांकले ५, ६ दिन धान्न सक्छ ।’
प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनबाट विभिन्न वार्डहरुमा र कोभिड अस्पतालमा अक्सिजन सप्लाई हुनेछ । प्रतिष्ठानमा यसअघि नै अक्सिजन प्लान्ट सञ्चालनमा रहेको छ । त्यहाँबाट प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन हुँदै आएको छ । यो प्लान्ट बिग्रदा, कम क्षमतामा चल्दा वा उत्पादनमा तलमाथि भएमा लिक्विड ट्यांकबाट अक्सिजन पठाइने सहप्रवक्ता डा.पोखरेलले बताए । ‘वीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिण्डरहरुमा भरेर ल्याउने झण्झट पनि हुदैन । सबै वार्डहरुमा पाइपलाइन विस्तार हुँदा सिलिण्डरको रिप्लेस हुन्छ,’उनले भने,'अब विरामीलाई अक्सिजनको कमी भएर ज्यान जाने स्थिति हुदैन ।'