धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको लागि काठमाण्डौंमा प्रर्दशन गर्ने क्रममा पक्राउ परेकाहरु आइतबार साँझ छुटेका छन् ।
बिहान करिब ११ बजे सिंहदरबार घेराउ गर्न पुगेका काठमाण्डौंका नागरिक अगुवाहरुसहित वीपी प्रतिष्ठानका विद्यार्थी र पुर्वविद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा प्रतिष्ठानमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत विद्यार्थी प्रशान्त राई, पुर्वविद्यार्थीद्धय डा.कुम्भराज जोशी र डा.लिलाबहादुर बस्नेत थिए । उनीहरुसँगै नागरिक अगुवाहरु नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका सबैलाई प्रहरीले नेपाल पुलिस क्लबमा लगेर दिनभर राखेको काठमाण्डौंमा आन्दोलनको संयोजन गरिरहेका प्रतिष्ठानका विद्यार्थी प्रशान्त राईले जानकारी दिए । उनका अनुसार साँझ करिब साढे ६ बजेतिर प्रहरीले सबैलाई छोडेको थियो । काठमाण्डौंमा आन्दोलनको संयोजन उनी र डा.कुम्भले गरिरहेका छन् ।
विद्यार्थी तथा पुर्वविद्यार्थीहरुले प्रतिपक्षी दलका नेताहरुलाई पनि भेटेर वीपी प्रतिष्ठानको समस्या, नियुक्तीलगायतको बिषयमा कुरा तथा मागहरु राखिसकेका छन् । ‘सबैले असार २८ गते सर्वोच्च अदालतको के फैसला आउछ भनेर प्रतिक्षामा छन्,अदालतको निर्णय जे जस्तो आएपनि हामी आफ्नो मागमा अडिग छौं,’प्रशान्तले भने,‘अहिलेसम्म मन्त्रालयबाट केही पहल वा सम्पर्क भएको छैन ।’