एजेन्सी: युरो २०२० को फाइनलमा इंग्ल्याण्डलाई हराउदै इटालीले युरोपियन च्याम्पियनसिप जितेको छ । 

इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टीमा इंग्ल्याण्डलाई ३-२ गोलले हराउदै इटालीले उपाधि जितेको हो । इटाली ५३ वर्षपछि युरोपियन च्याम्पियन बनेको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी शुटआउटबाट खेलको निर्णय भएको हो । 

निर्धारित समयमा भने पहिलो हाफको दोस्रो मिनेटमा ल्युक शहले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए । तर, दोस्रो हाफको ६७ औं मिनेटमा इटालीका डिफेन्डर लियोनार्दो बोनुचीले बराबरी गोल गरे । इटालीले यसअघि सन् १९६८ मा युरो जितेको थियो भने २००० र २०१२ मा फाइनलमा पराजित भएको थियो । इटालीले २००६ मा विश्वकप जितेपछि यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो ।